बन्यो म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक पक्की

बन्यो म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक पक्की


म्याग्दी-
म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट पुरुण्डीसम्मको ६ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरी पक्की बनाइएको छ। यो सडकले बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको वडा नम्बर १ का बस्तीहरूलाई जिल्ला सदरमुकाम बेनीसँग जोडेको छ। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले यो सडक नगरपालिकाको प्राथमिकताप्राप्त क्रमागत योजना भएको बताए।

“बेनी–अर्थुङ्गे–पुलाचौर सडकले स्थानीय बस्तीहरूलाई सदरमुकामसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्छ,” केसीले भने, “आर्थिक वर्ष २०८२/८३ मा पुरुण्डी–पुलाचौर खण्डको स्तरोन्नतिका लागि रु १ करोड ६२ लाख ५० हजार विनियोजन भएको छ।”

आर्थिक वर्ष २०८१/८२ मा दुईवटा योजनामार्फत सडक स्तरोन्नति गरिएको थियो। रु ६२ लाख ६७ हजार ८३८ को ठेक्कामार्फत एकपाटे र अवेचौर क्षेत्रमा ४२६ मिटर प्रिमिक्स कालोपत्र, १३० मिटर ढलान, र १९० मिटर पक्की नाली निर्माण भएको बेनी नगरपालिकाका प्राविधिक मिलन केसीले जानकारी दिए। यस्तै, सडक बोर्डको रु ६८ लाख ७९ हजार ४९८ को योजनाअन्तर्गत पुरुण्डी खण्डमा २३२ मिटर ढलान, १५० मिटर पक्की नाली, र पर्खाल निर्माण सम्पन्न भएको छ। तर, ७२ मिटर प्रिमिक्स कालोपत्रको काम बाँकी रहेको छ।

सडकलाई पहिलाको ४ मिटरबाट ७ मिटर फराकिलो बनाइएको छ। ढलान र कालोपत्रअघि सडक फराकिलो बनाउने, नाली, र टेवा पर्खाल निर्माण गरिएको छ।

स्थानीय बासिन्दा विष्णुदत्त शर्माले सडक स्तरोन्नतिपछि आवतजावतमा ठूलो सहजता आएको बताए। “पहिला एकपाटेबाट बेनी पुग्न ४० मिनेट लाग्थयो, अहिले १० मिनेटमै पुगिन्छ,” उनले भने, “हिलो र धुलोमुक्त सडकमा सुरक्षित यात्रा गर्न पाउँदा हामी खुसी छौँ।”

स्थानीयले नियमित यातायात सञ्चालन र भाडादर समायोजनको माग गरेका छन्। बेनी नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नयाँ आर्थिक वर्षको सुरुआतसँगै नयाँ भाडादर लागू गरेको जनाएको छ।