‘सात भाइ’ले खोजे देउवाको उत्तराधिकारी, देउवाको जवाफ– ग्रीन सिग्नल कसैलाई दिएको छैन

‘सात भाइ’ले खोजे देउवाको उत्तराधिकारी, देउवाको जवाफ– ग्रीन सिग्नल कसैलाई दिएको छैन


काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन कसैलाई पनि वचन नदिएको बताएका छन्। मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नो निवासमा पुगेका पार्टीका वरिष्ठ नेताहरूसँगको भेटमा देउवाले यो कुरा स्पष्ट पारेका हुन्। भेटमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री डा। प्रकाशशरण महत सहभागी थिए।
भेटमा सहभागी नेताहरूले केही व्यक्तिहरूले सभापति देउवाले आफूलाई १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन ‘ग्रिन सिग्नल’ दिएको भन्दै प्रचार गरेको विषयमा जिज्ञासा राखेका थिए। “केही नेताले सभापतिले मलाई समर्थन गरेको छ भनेर हिँडेका छन्, सत्यता के होरु” भन्ने प्रश्नमा देउवाले कसैलाई पनि उम्मेदवारीको वचन नदिएको प्रष्ट पारे। भेटमा सहभागी पूर्वउपसभापति गोपालमान श्रेष्ठले भने, “हामीले सुनेका थियौँ कि केही नेताले सभापतिको समर्थन पाएको भन्दै प्रचार गरिरहेका छन्। तर, सभापतिज्यूले कसैलाई वचन नदिएको बताउनुभयो।”
भेटका क्रममा गोपालमान श्रेष्ठले १४ औँ महाधिवेशनमा आफूले सभापतिको तयारी गरेको तर देउवालाई सहयोग गरेको स्मरण गराए। उनले यो पटक आफ्नो पालो आउने कि नआउने भनी सोधेका थिए। जवाफमा देउवाले ठोस प्रतिक्रिया नदिई “बेला आएपछि सबैसँग सल्लाह गरेर अघि बढ्छु” भने। श्रेष्ठका अनुसार, उक्त भेटमा देउवाकी पत्नी डा आरजु राणा देउवासहित केही नेता साक्षीका रूपमा उपस्थित थिए।
सहभागी नेताहरूले केही व्यक्तिहरूले सभापतिको उम्मेदवारका रूपमा देश दौडाहा सुरु गरिसकेको भन्दै नेतृत्व चयनमा सभापति देउवाले सबैसँग सल्लाह गरेर अघि बढ्नुपर्ने सुझाव दिए। तर, देउवाले यो विषयमा कुनै ठोस जवाफ नदिई टाउको हल्लाएर मात्र प्रतिक्रिया जनाए।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिको उम्मेदवारी र नेतृत्व चयनको विषयले पार्टीभित्र तीव्र बहस र सरगर्मी बढाएको छ। देउवाको पछिल्लो अभिव्यक्तिले उम्मेदवारीको दौडमा रहेका नेताहरूबीच थप प्रतिस्पर्धा र रणनीति बनाउने क्रम तीव्र हुने देखिन्छ।