प्रकाश सपुतको तीज गीतमा रेखा थापाको कमब्याक

प्रकाश सपुतको तीज गीतमा रेखा थापाको कमब्याक


अभिनेत्री रेखा थापा पुनः म्युजिक भिडियोमा देखिन लागेकी छन्। २५ वर्ष लामो अभिनय यात्रामा उनले गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहूँ’ बाहेक अन्य कुनै म्युजिक भिडियोमा अभिनय गरेकी थिइनन्। तर अब उनी प्रकाश सपुतको कम्पोजिसन तथा निर्देशनमा तयार भएको ‘नाइँ भनेसि नाइँ’ बोलको भिडियोमार्फत दर्शकमाझ आउने भएकी हुन्।

सपुतले तीजलाई लक्षित गर्दै तयार पारेको यो गीतको विषयवस्तुले आफूलाई आकर्षित गरेको रेखाले बताएकी छन्। नेपालकी पहिलो महिला सुपरस्टारको रूपमा परिचित रेखाले भनिन्, “गीतको सन्देश र प्रस्तुति मन परेकाले म्युजिक भिडियोमा काम गर्ने निर्णय गरेको हुँ।”

गायक प्रकाश सपुतका अनुसार यो गीतमा सुरुवाती चरणदेखि नै रेखालाई लक्षित गरेर कन्सेप्ट तयार गरिएको थियो। उनले भने, “गत वर्ष वसन्त चलचित्रका कारण तीजमा गीत निकाल्न सकेको थिइनँ। यसपटक भने रेखालाई ध्यानमा राखेर गीत बनाएको हुँ।”

यो गीतमा गायिका एलिना चौहान र समीक्षा अधिकारीले स्वर दिएका छन्। म्युजिक भिडियो केही दिनमै सार्वजनिक हुने बताइएको छ