पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीति प्रवेशमा रोक

पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीति प्रवेशमा रोक

ओलीलाई पुनः अध्यक्षको बाटो खुला


काठमाडौँ – नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहनामा रोक लगाउँदै उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय गरेको छ। मंगलबार मध्यराति सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको यो प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने असहमति जनाएका थिए। गौतमका अनुसार, पूर्व राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक र संविधानको संरक्षक भएकाले कुनै दलको झन्डा बोकेर राजनीतिमा सक्रिय हुनु संविधानको मर्मविपरीत हुने निष्कर्ष निकालिएको हो।

बैठकमा भण्डारीको पक्षमा केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सिना, कैलाश ढुङ्गेल, इन्द्रलाल सापकोटा, रचना खड्का, अरबिन्द सिंह, युवराज बाँस्कोटा, रामलाल साह, बिनादेवी राई, शिव सुवेदी, केदार न्यौपाने, पार्वती रावललगायतले सक्रिय राजनीतिमा आउन दिनुपर्ने मत राखेका थिए, तर यो अल्पमतमा पर्‍यो। गौतमले पूर्व राष्ट्रपतिप्रति सम्मान रहेको र यो निर्णय सबै राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्ने बताए।

यसैबीच, बैठकले आगामी भदौमा हुने विधान अधिवेशनमार्फत केपी ओलीलाई पुनः अध्यक्ष बनाउने बाटो खुला गरेको छ। यसका लागि पार्टीले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। ‘मिसन २०८४’ का लागि ओलीको नेतृत्व अपरिहार्य रहेको अधिकांश नेताहरूको सुझाव थियो। यद्यपि, गौतमले योग्य नेताहरूले अध्यक्षमा प्रतिस्पर्धा गर्न सक्ने स्पष्ट पारे। दुई दिनसम्म चलेको बैठकमा २५० भन्दा बढी केन्द्रीय सदस्य सहभागी थिए।