तिगडम गरेर विद्या भण्डारीलाई रोक्ने एमालेको निर्णयप्रति उषाकिरणको आक्रोश

तिगडम गरेर विद्या भण्डारीलाई रोक्ने एमालेको निर्णयप्रति उषाकिरणको आक्रोश


काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्न रोक्ने निर्णय गरेपछि उनकी छोरी उषाकिरण भण्डारीले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया व्यक्त गरेकी छन्।  पार्टीले मंगलबार रातिसम्म चलेको बैठकमार्फत गरेको उक्त निर्णयप्रति उषाकिरणले आश्चर्यजनक टिप्पणी गर्दै यो निर्णयमा ‘तिगडम’ भएको आरोप लगाइन्। ‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें,’ उनले फेसबुकमा लेखेकी छन्, ‘तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन।’ उषाकिरणले थपेकी छन्, ‘म खुसी छु कि यो खुला रूपमा बाहिर आयो।’

उनले पार्टीभित्रको आन्तरिक राजनीति र नैतिकताको विषयसमेत उठाउँदै पुष्पलालको परिवारले किन एमालेलाई नैतिक समर्थन जनाउन सक्दैन भन्नेबारे आफूलाई हालै बुझाइ भएको उल्लेख गरिन्।‘आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग,’ उनले लेखिन्, ‘पहिले लाग्थ्यो किन उहाँको परिवार एमालेमा नैतिक समर्थन गर्न देखिँदैन, तर आमाको आग्रहअनुसार हामीले प्रयास गरेका थियौं। तर विगत एक महिनादेखि बुझें, त्यस्तो नैतिक समर्थन पनि गर्न नसकिने अवस्था रहेछ।’ मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष समेत रहेकी उषाकिरणले यो विवादले आफूलाई सत्य बोध गराएको भन्दै, ‘यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो, त्यसकारण यो प्रकरणलाई धन्यवाद,’ भन्दै पोस्ट समाप्त गरेकी छन्।