सुर्खेतमा ‘हनी ट्र्याप’मार्फत १४ लाखभन्दा बढी असुल्ने महिला पक्राउ

सुर्खेतमा ‘हनी ट्र्याप’मार्फत १४ लाखभन्दा बढी असुल्ने महिला पक्राउ


 सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले ‘हनी ट्र्याप’मा पारी रु १४ लाख २५ हजार असुल्ने एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकी महिला २१ वर्षीय सिन्दु चन्द हुन्, जो दैलेखको नौमूले गाउँपालिका–८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतमा बस्दै आएकी थिइन्। उनले विसं २०८१ भदौमा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ सुर्खेतस्थित बुलबुले भ्यू होटलमा बोलाई चिनजान र सहमतिमा सम्बन्ध राखेकी थिइन्।

प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार त्यसपछि उनले पीडितलाई जबर्जस्ती करणी मुद्दामा फसाइदिने र सामाजिक सञ्जाल तथा मिडियामा नाङ्गो तस्बिर सार्वजनिक गर्ने धम्की दिँदै पटक–पटक गरेर रु १४ लाख २५ हजार असुलेकी थिइन्। प्रमाणसहित प्राप्त जाहेरीका आधारमा मंगलबार प्रहरीले उनलाई पक्राउ गरेको हो। हाल उनलाई आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।