काठमाडौं ।
भारतको उत्तराखण्ड राज्यस्थित हिन्दूहरूको पवित्र तीर्थस्थल हरिद्वारमा रहेको मनसा देवी मन्दिरमा आइतबार बिहान भगदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। यो दुखद घटनाको पुष्टि गढवाल डिभिजन कमिश्नर विनय शंकर पाण्डे र उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले गरेका छन्।
मुख्यमन्त्री धामीले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, “हरिद्वारस्थित मनसा देवी मन्दिर मार्गमा भगदौड मच्चिएको अत्यन्तै दुखद खबर प्राप्त भएको छ। SDRF, स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेर राहत र उद्धार कार्यमा जुटेका छन्। म स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र परिस्थितिको निगरानी भइरहेको छ। माता रानीसँग सबै भक्तजनहरूको कल्याणको प्रार्थना गर्दछु।”
मनसा देवी मन्दिर हरिद्वारको शिवालिक पहाडमा अवस्थित बिल्वा पर्वतमा रहेको छ। मन्दिर पुग्न भक्तजनहरूले पैदल सीढी मार्ग वा रोपवे (उडन खटोला) प्रयोग गर्छन्। प्रारम्भिक जानकारीअनुसार, आइतबार बिहान ९ बजेको आसपास मन्दिर मार्गमा अत्यधिक भीडका कारण भगदौड मच्चिएको हो। केही स्रोतहरूले उच्च भोल्टेजको तार खसेर भक्तजनहरू त्रसित भएको उल्लेख गरेका छन्, यद्यपि गढवालका डिभिजनल कमिश्नरले करेन्टको कुरालाई अस्वीकार गरेका छन्।
घटनापछि तत्कालै राज्य आपदा प्रतिक्रिया बल (SDRF), स्थानीय प्रहरी, र अन्य उद्धार टोलीहरू घटनास्थलमा परिचालित भएका छन्। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। स्थानीय प्रशासनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।
मुख्यमन्त्री धामीले प्रशासनलाई घटनास्थलको स्थिति नियन्त्रणमा लिन र प्रभावितहरूलाई तत्काल सहायता उपलब्ध गराउन निर्देशन दिएका छन्। उनले भने, “हामीले भक्तजनहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिएका छौं। यस्ता घटनाहरूको पुनरावृत्ति नहोस् भनेर आवश्यक कदम चालिनेछ।”

प्रतिक्रिया