काठमाडौ — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। शनिबार राति बालुवाटारमा कर्णालीका केन्द्रीय सदस्यहरूसँगको छलफलमा ओलीले पार्टीभित्रको तनाव र भण्डारीको सक्रिय राजनीतिमा फर्कने प्रयासबारे कडा अडान राखेका हुन्।
छलफलमा २७ मध्ये २२ केन्द्रीय सदस्य सहभागी थिए। ओलीले झापा विद्रोहको सन्दर्भबाट कुरा सुरु गर्दै भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको तर सक्रिय राजनीतिमा फर्कन नमिल्ने परिस्थिति रहेको बताए। उनले माधव नेपाल र झलनाथ खनालले पनि यही कारण राष्ट्रपति पद अस्वीकार गरेको उल्लेख गरे। “माधव र झलनाथले बुझेको कुरा विद्याजीले नबुझ्ने भन्ने हुँदैन,” ओलीले भने।
ओलीले भण्डारीलाई दोस्रो कार्यकालका लागि समेत आफूले समर्थन गरेको स्मरण गरे। तर, गत ३ असारमा बालुवाटारमा भएको भेटमा भण्डारीले आफूलाई अलोकप्रिय भएको र नेतृत्व छोड्नुपर्ने भनेर तथ्यहीन आरोप लगाएको उनले बताए। “साँझ साढे ६ बजेदेखि साढे १० बजेसम्मको कुराकानीमा उहाँले मलाई छोड्नुस् भन्नुभयो,” ओलीले भने। जवाफमा ओलीले भण्डारीलाई नेतृत्व हस्तान्तरण सम्भव नभएको र पार्टीमा आफूभन्दा वरिष्ठ नेताहरू रहेको बताए। “शेरबहादुर देउवा बलियो हुनुको कारण अरुले उनलाई मानेका छन्। मैले छोड्दैमा तपाईंलाई अरुले मान्छन् भन्ने छैन,” ओलीको भनाइ थियो।
पार्टीको केन्द्रीय कमिटीको निर्णयविपरीत कुनै सम्झौता नहुने ओलीको निर्देशन छ। केन्द्रीय सदस्य विष्णु रिजालले पनि भण्डारीसँग सम्झौता नहुने सन्देश आएको पुष्टि गरे। “पार्टीले निर्णय गरेको छ। साथीहरूले मत राखे पनि टाढा बनाउने होइन, सम्झाएर निर्णयको पक्षमा उभ्याउने काम गर्नुपर्छ,” रिजालले भने।
ओलीले भण्डारीमाथि कुनै अन्याय नभएको तर्क गरे। “पञ्चायतकालमा अखिलको राजनीति र संसदीय राजनीतिमा सांसद, मन्त्री, राष्ट्रपति बन्नुभयो। अन्याय भन्ने ठाउँ छैन,” उनले भने। भण्डारीको सक्रिय राजनीतिमा फर्कने निर्णयलाई तीन जनाले मात्र समर्थन गरेको भन्दै ओलीले पार्टी निर्णयमा हेरफेर नहुने बताए।

प्रतिक्रिया