हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि पार्टी केन्द्रीय प्रतिनिधि हेटौँडा पुगेका छन्। कांग्रेस केन्द्रीय सदस्य तथा पर्यवेक्षक राजन केसी सोमबार हेटौँडा आइपुगेका हुन्। उनका अनुसार बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
बैठकमा दलका सांसदहरूले दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा आफ्नो धारणा राख्नेछन्। प्रस्तावमाथि मत विभाजन गरिनेछ। केसीले भने, “पहिला हामी अविश्वासको प्रस्तावलाई टुंगोमा पुर्याउँछौँ। त्यो पास हुने कि फेलरु बहुमत कता जान्छरु त्यसपछि मात्रै नयाँ नेताको निर्वाचन हुन्छ।” उनका अनुसार प्रस्ताव पारित भएमा गोप्य मतदानमार्फत नयाँ संसदीय दलको नेता चयन गरिनेछ। उम्मेदवारले कुल मतको ५१ प्रतिशत प्राप्त गर्नुपर्नेछ। यदी अविश्वास प्रस्ताव अस्वीकृत भयो भने बहादुर सिंह लामाले पुनः संसदीय दलको नेतृत्व तथा मुख्यमन्त्रीको जिम्मेवारी यथावत् कायम राख्नेछन्। तर प्रस्ताव पारित भएमा उनले बहुमत गुमाएको प्रमाणित हुने र मुख्यमन्त्री पदको वैधानिकता पनि हराउने केसीको भनाइ छ।
गत शुक्रबार, कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता लामाविरुद्ध २१ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। तीमध्ये चार जना हाल सरकारमा मन्त्री रहेका सांसदहरू समेत छन्, जसले राजीनामा दिएर प्रस्तावमा हस्ताक्षर गरेका थिए। अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरू मकवानपुरका सांसद तथा प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाइनुपर्ने माग गर्दै अघि बढेका हुन्। लामो समयदेखि बानियाँ र लामाबीच मुख्यमन्त्री बन्ने विषयमा विवाद रहँदै आएको थियो।

प्रतिक्रिया