पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाललाई वारेस राख्ने सुविधा दिन अदालतद्वारा अस्वीकार

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाललाई वारेस राख्ने सुविधा दिन अदालतद्वारा अस्वीकार


काठमाडौँ- पतञ्जलि जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वारेस सुविधा माग गरेकोमा विशेष अदालतले अस्वीकार गरेको छ ।

नेपालले राजनीतिक कार्यक्रममा देशको विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाई मुद्दामा वारेस राख्ने अनुमति पाउँ भन्ने ब्यहोराको निवेदन दिएका थिए । उक्त निवेदनउपर सोमबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा सुनुवाइपछि वारेस सुविधा दिन अस्वीकार गरेको हो ।

आदेशमा भनिएको छ, ‘तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखियो । तसर्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा (१) को खण्ड (क) को व्यवस्थाअनुसार यी प्रतिवादीलाई वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन ।’

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द शर्मा (बन्दी), मेजर थापा, अधिवक्ताहरू हर्कबहादुर रावल, परिवर्तन राई, डेकेन्द्रप्रसाद सुवेदी, घनप्रसाद गौतम, अम्बरबहादुर राउत, कपिलदेव ढकाल, श्रवणकुमार चौधरी, रामकुमार महतो, जमुना भुसाल, नीलकण्ठ शर्मा, गोपीलाल नेपाल र सरिता राईले बहस गरेका थिए ।