बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्तावमा आजै मतविभाजन

बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्तावमा आजै मतविभाजन


हेटौँडा— बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज (आइतबार) मतविभाजन हुँदैछ। इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्तावलाई टुङ्गोमा पुर्‍याउन मतविभाजन प्रक्रिया सुरु भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीको नेतृत्वमा मतविभाजन प्रक्रिया अघि बढाइएको हो। बागमती प्रदेशमा कांग्रेसका ३७ सिट छन्, जसमध्ये २१ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् भने १६ सांसद लामाको पक्षमा छन्।

कांग्रेस संसदीय दलका सदस्य सचिव कृष्ण लामाले अविश्वास प्रस्तावलाई निष्कर्षमा पुर्‍याउन प्रक्रिया सुरु भएको जानकारी दिए। मतविभाजनका लागि लामा समूह र बानियाँ समूहका सांसदहरू संसदीय दलको कार्यालय हेटौँडामा उपस्थित भएका छन्।

मुख्यमन्त्री लामाले आफ्ना समूहका सबै सांसद हेटौँडा नरहेको भन्दै बैठक सोमबार बिहान ११ बजेसम्म सार्न केन्द्रीय प्रतिनिधि राजन केसीसमक्ष अनुरोध गरेका थिए। लामानिकट अर्थमन्त्री कुन्दनराज काफ्ले सोमबार बिहान मात्र हेटौँडा आइपुग्ने भएकाले उनले समय मागेका थिए। तर, बानियाँ समूहले आजै मतविभाजन गर्नुपर्ने अडान राखेपछि प्रक्रिया तत्कालै अघि बढाइएको स्रोतले जनाएको छ।

यो मतविभाजनले बागमती प्रदेशको कांग्रेस नेतृत्व र मुख्यमन्त्रीको भविष्य निर्धारण गर्नेछ। अविश्वास प्रस्तावको परिणामले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने देखिएको छ।