मुख्यमन्त्री लामामाथिको अविश्वास प्रस्तावको छिनोफानो आज

मुख्यमन्त्री लामामाथिको अविश्वास प्रस्तावको छिनोफानो आज


हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मंगलबारबाट प्रक्रिया अगाडि बढ्ने भएको छ।

कांग्रेस संसदीय दलका सचिव तथा सांसद कृष्ण तामाङले आज बिहान १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया सुरु हुने जानकारी दिए। गत ९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा २१ जना सांसदले बहुमतसहित लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध गरिएको छ।

हिजो सोमबार राति ९ बजे मुख्यमन्त्री लामा र बानियाँ पक्षबीच भएको छलफलमा आज बिहान १० बजेबाट अविश्वास प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति भएको थियो। बानियाँ पक्षले प्रस्तावलाई तत्काल टुंग्याउनुपर्ने अडान लिएको थियो भने लामा पक्षले आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेको दक्षिण कोरिया भ्रमणबाट फर्कने समयलगायतका कारण देखाउँदै प्रक्रिया पछाडि धकेल्ने प्रयास गरेको थियो।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादलाई सहमतिमा टुंग्याउने प्रयास भइरहेको सांसद बानियाँले बताए। पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसी र प्रदेश सांसदहरूबीच सोमबार दिनभर भएको संवादमा सहमतिबाट समाधान खोज्ने विश्वास व्यक्त गरिएको थियो।

पूर्व कानुनमन्त्री तथा सांसद सुरजचन्द्र लामिछानेले बिहान १० बजेसम्म सहमतिको प्रयास हुने र सहमति नभए अविश्वास प्रस्तावलाई मतविभाजनबाट टुंग्याउने सहमति भएको बताए। संसदीय दलको कार्यालयले १० बजेपछि प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूको सनाखत प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन्, जसमध्ये दलको नेता बन्न १९ सांसदको समर्थन आवश्यक पर्छ। अविश्वास प्रस्तावमा मतविभाजन हुँदा लामा अल्पमतमा परेमा उनलाई मुख्यमन्त्री पद छोड्न नैतिक दबाब पर्नेछ। तर, बहुमत सांसदलाई आफ्नो पक्षमा पार्न सके उनी दलको नेतामा कायम रहनेछन्।

यसअघि, तत्कालीन मन्त्रीहरू सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी, र मदुकुमार श्रेष्ठले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि लामा संकटमा परेका थिए। उनीहरूको राजीनामामाथि कारबाही नगरी लामाले सोही दिन साँझ उनीहरूलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए।

बागमतीको विवाद समाधानका लागि केन्द्रीय सदस्य राजन केसी आइतबार हेटौंडा आएर परामर्श थालेका थिए। मुख्यमन्त्री लामा भने सोमबार मात्र काठमाडौंबाट हेटौंडा पुगेका थिए।

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ लामालाई हटाएर मुख्यमन्त्री बन्ने कसरतमा छन्। विधानतः मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने व्यवस्थाले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

यसअघि १३ पुस २०७९ मा भएको संसदीय दलको निर्वाचनमा लामाले बानियाँलाई ५ मतले पराजित गरेका थिए। लामाले २१ मत पाउँदा बानियाँले १६ सांसदको समर्थन मात्र प्राप्त गरेका थिए। प्रदेशसभाको पहिलो कार्यकाल ९२०७४–७९० मा बानियाँ पाँच वर्ष दलको नेता थिए, तर उनी मुख्यमन्त्री बन्न सकेनन्।