मुगु,। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१र८२ मा मुगु जिल्लामा १२ करोड ८७ लाख ४९ हजार १५२ रुपैयाँ बराबरको १६ टन खाद्यान्न विक्री गरेको छ। सडक सञ्जालको विस्तारसँगै सरकारको स्वामित्वमा रहेको यस कम्पनीले मुगुमा पर्याप्त मात्रामा खाद्यान्न आपूर्ति गर्दै आएको छ।
मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र रातापानी, कालै सहकारीमार्फत चामल, तेल, दाल, चिनी लगायतका खाद्यान्न विक्री गरिएको हो। खाद्य कम्पनीका शाखा प्रमुख केशव गिरीका अनुसार पछिल्ला वर्षहरूमा गत वर्षको तुलनामा खाद्यान्न विक्री बढेको वार्षिक अभिलेखले देखाएको छ।
बजारको तुलनामा खाद्य कम्पनीको खाद्यान्न सस्तो मूल्यमा उपलब्ध हुने भएकाले दैनिक करिब १५० जना उपभोक्ता खरिदका लागि आउने गरेका छन्। हाल गोदाममा करिब ३ टन खाद्यान्न मौज्दात रहेको गिरीले बताए। उनका अनुसार स्टीम जिरा मसिनो चामल, अरुवा मोटा र भिटा मिश्रण चामलको माग सबैभन्दा बढी छ।
विगतमा खाद्यान्न अभावले भोकमरीको जोखिम रहेको मुगुमा हाल खाद्यान्नको सहज आपूर्तिले स्थानीयलाई राहत मिलेको छ। छायाँनाथ रारा नगरपालिका(१३ का सर्जन बढुवालले खाद्य कम्पनीबाट सस्तो मूल्यमा खाद्यान्न उपलब्ध हुँदा स्थानीयलाई सहज भएको बताए।
जिल्लाका अधिकांश स्थानीयको आफ्नै उत्पादनले वर्षको ४/५ महिना मात्र खान पुग्ने भएकाले उनीहरू खाद्य कम्पनीको सहुलियत मूल्यको खाद्यान्नमा निर्भर छन्।

प्रतिक्रिया