मुस्ताङको कालीगण्डकी नदीबाट हिमालको मनोरम दृश्यले पर्यटक मोहित

मुस्ताङको कालीगण्डकी नदीबाट हिमालको मनोरम दृश्यले पर्यटक मोहित


मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका-३ धम्पु गाउँ नजिकैबाट देखिने कालीगण्डकी नदी र पृष्ठभूमिमा उभिएको मानापाथी हिमालको सुन्दर दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ। बेनी-जोमसोम-कोरोला सडकखण्डमा पर्ने यो मनोरम दृश्य प्रकृति प्रेमी र पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ।

कालीगण्डकी नदीको किनारमा बग्ने स्वच्छ पानी र मानापाथी हिमालको हिउँले ढाकिएको शिखरले यहाँको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ। यो क्षेत्रको दृश्यावलोकनले पर्यटकलाई शान्ति र आनन्दको अनुभूति प्रदान गर्ने स्थानीय बताउँछन्।

“यो दृश्यले मनै लोभ्याउँछ। कालीगण्डकी र मानापाथीको संयोजनले मुस्ताङको सौन्दर्यलाई विश्वसामु चिनाएको छ,” स्थानीय पर्यटन व्यवसायी सुशीलबाबू थकालीले भने। यो क्षेत्रमा आउने पर्यटकहरूले यहाँको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र शान्त वातावरणको प्रशंसा गर्ने गरेका छन्।