माघ १ देखि हल लाग्ने भो चलचित्र ‘मिरमिरे’

माघ १ देखि हल लाग्ने भो चलचित्र ‘मिरमिरे’


काठमाडौ । यार्सा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा भएको छ। यम शेर्पाले निर्देशन गरेको यो चलचित्र आगामी माघ १, २०८२ बाट देशभरका हलमा प्रदर्शन हुनेछ।

नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर प्रदर्शन मिति घोषणा गरिएको हो। चलचित्रको छायांकन असार २१, २०८१ बाट काभ्रेपलाञ्चोक र चित्लाङमा सुरु भएको थियो, जुन अबको दुई सातामा सम्पन्न हुने निर्माण टिमले जनाएको छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पाको लगानीमा बनेको यो चलचित्रलाई आलोक शुक्लाले छायांकन गरिरहेका छन्। चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका चर्चित कलाकारहरूको अभिनय छ। साथै, बाल–कलाकारहरू साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले पनि अभिनय गरेका छन्।

चलचित्रका कार्यकारी निर्माता रोहित कट्टेल हुन् भने वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ। निर्माण टिमले ‘मिरमिरे’ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।