हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार (आज) राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा भएको सहमतिपछि उनले यो निर्णय लिएका हुन्। लामाले आफूलाई संसदीय दलको नेतृत्व निर्वाचनमा समर्थन गर्ने तीन सांसद– गोविन्द लम्साल, गीता गुरुङ, र माया श्रेष्ठलाई इन्द्र बानियाँ नेतृत्वको आगामी मन्त्रिपरिषद्मा मन्त्री बनाउने सर्त राखेका थिए। यी सांसदलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, सहकारी तथा गरिबी निवारण, र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ। यद्यपि, यी मन्त्रीहरूको सपथग्रहण बाँकी छ। यो सहमतिले बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुल्ने भएको छ।
नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलमा लामा र बानियाँबीच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मत पाएका थिए। संसदीय दलको नेतृत्व गुमाए पनि लामाले संविधानको धारा १६८९२० को आधारमा मुख्यमन्त्री पद नछाड्ने अडान राखेका थिए। यो धाराले कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बन्न सकिने व्यवस्था गरेको छ। तर, देउवाको निर्देशन र बानियाँसँगको सहमतिपछि लामाले मार्गप्रशस्त गर्ने निर्णय लिए। बिहीबार देउवासँगको भेटमा लामाले आफ्ना सर्तहरू राखेका थिए, जसलाई शनिबार बानियाँले स्वीकार गरे।
इन्द्र बानियाँले लामा र आफूबीच कुनै तिक्तता नभएको र यो प्रक्रिया लोकतान्त्रिक अभ्यासको हिस्सा भएको बताए। उनले भने, ूहामीबीच कुनै समस्या छैन। यो लोकतान्त्रिक पार्टीभित्रको सामान्य प्रक्रिया हो। अब सरकार र पार्टी सञ्चालनमा सहमति र सहकार्य हुनेछ।ू कांग्रेस–एमाले गठबन्धनको सहमतिअनुसार आगामी नौ महिना बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ। लामाको राजीनामापछि बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुल्नेछ।
लामाले राजीनामाअघि मन्त्रिपरिषद् बैठक बोलाएर आफ्ना कुरा राख्ने र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने योजना बनाएका छन्।

प्रतिक्रिया