दशैंको फूलपातीमा तीन नेपाली फिल्मको भिडन्त

दशैंको फूलपातीमा तीन नेपाली फिल्मको भिडन्त

‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ एकैसाथ प्रदर्शनमा


 

काठमाडौं — अघिल्लो वर्षको जस्तै यो वर्षको दशैंमा पनि तीन ठूला नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आउने भएका छन्। दशैंको फूलपातीको अवसर पारेर ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ नामक चलचित्रहरू प्रदर्शनमा आउने पक्का भएको छ। कमेडी, एक्सन र सामाजिक विषयवस्तुमा आधारित यी चलचित्रहरूबीचको प्रतिस्पर्धाले नेपाली सिने बजारमा चहलपहल बढाउने अनुमान गरिएको छ।

गत वर्ष ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकैसाथ प्रदर्शनमा आएका थिए। तीमध्ये ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले व्यवसायिक रूपमा सन्तोषजनक प्रदर्शन गरेका थिए भने ‘ज्वाइँ साब’ले अपेक्षित व्यापार गर्न सकेन। त्यसैको निरन्तरतामा यसपटक पनि फरक विधाका तीन चलचित्र एकसाथ प्रदर्शनमा आउन लागेका हुन्।

कमेडीमा ‘हरिबहादुरको जुत्ता’
दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको ‘हरिबहादुरको जुत्ता’ एक हास्यप्रधान चलचित्र हो। चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहितबंश आचार्यको लगानी रहेको छ। कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन तथा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्र दर्शकलाई हँसाउने उद्देश्यले तयार पारिएको निर्माण पक्षले जनाएको छ।

एक्सनमा ‘बलिदान’
एक्सन जनरामा निर्माण भएको चलचित्र ‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका हुन्। समीर भट्टको मुख्य भूमिका रहेको चलचित्रमा पवन विष्टको लगानी रहेको छ भने चक्रबहादुर चन्द र प्रेम पुरी कार्यकारी निर्माताको रूपमा रहेका छन्। दर्शन जीको कथा तथा डा. मनोज पण्डितको स्क्रिप्ट रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ। समाजमा बलिदान र संघर्षको कथालाई प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण भएको यो चलचित्रले एक्शनप्रेमी दर्शकलाई लक्षित गरेको छ।

सामाजिक कथामा ‘माइतीघर’
रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’ सामाजिक कथा र संस्कृतिमाथि आधारित छ। निर्देशक मिलन तामाङको निर्देशनमा बनेको चलचित्रमा रविन शेरचन र धिरज तामाङले लगानी गरेका छन् भने ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताको रूपमा छन्। चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रले तामाङ संस्कृतिको पक्षलाई पनि चित्रण गरेको छ।

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन र सङ्गीता थापालगायत कलाकारहरूको अभिनय छ।

तीन फरक विधाका चलचित्र एउटै चाडको अवसरमा प्रदर्शनमा आउँदा दर्शकलाई मनोरञ्जनको फरक विकल्प प्राप्त हुने देखिएको छ। अब कुन चलचित्रले दर्शकको मन जित्छ र व्यापारिक सफलता हासिल गर्छ भन्ने उत्सुकता सिने बजारमा चुलिएको छ।