उत्तराखण्ड बाढीपहिरोमा १९ नेपाली बेपत्ता औपचारिक सूचनाको पर्खाइमा नेपाली दूतावास

उत्तराखण्ड बाढीपहिरोमा १९ नेपाली बेपत्ता औपचारिक सूचनाको पर्खाइमा नेपाली दूतावास


नयाँ दिल्ली — भारतको उत्तराखण्डमा मंगलबार र बुधबार गएको बाढीपहिरोमा कम्तीमा १९ नेपाली बेपत्ता भएको परिवारजनले जानकारी दिएका छन्। दिल्लीस्थित नेपाली दूतावासले बेपत्ता नेपाली नागरिकको अवस्थाबारे बुझ्ने प्रयास भइरहेको जनाएको छ।

परिवारजनका अनुसार जाजरकोटका १३, बर्दियाका चार, जुम्ला र रोल्पाका एक–एक गरी १९ जना बेपत्ता छन्। तीमध्ये जाजरकोटका पाँच, जुम्ला र रोल्पाका एक–एक गरी सात जनाको मृत्यु भएको आफन्तले बताएका छन्, यद्यपि उनीहरूको शव फेला परेको छैन। जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले यी विवरण पुष्टि गरेका छन्।

दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले बाढीपहिरो प्रभावित क्षेत्रमा शुक्रबारदेखि बल्ल सञ्चार साधनले काम गर्न थालेको बताए। उनले भने, “उत्तराखण्ड प्रहरीसँग नेपालीको अवस्थाबारे विवरण मागेका छौँ, तर अझै आधिकारिक रूपमा विस्तृत जानकारी प्राप्त भएको छैन।”

दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार २० साउनको बाढीपहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने दुई जनाको शव निकालिएको छ। उद्धार गरिएका र मृतकमा कुनै पनि नेपाली नागरिक नरहेको उत्तराखण्ड प्रहरीले दूतावासलाई जनाएको छ।

यस्तै, २१ साउनमा पौडीगढवालको बागोडामा गएको पहिरोमा पाँच जना नेपाली बेपत्ता भएको दूतावासलाई जानकारी प्राप्त भएको छ। घाइते भएका चार जना नेपालीमध्ये तीन जना घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

नेपाली दूतावासले बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्था, बेपत्ता नेपालीको खोजी, उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।