मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७ सय पशु मरे

मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७ सय पशु मरे


जनकपुरधाम- लम्पीस्किन रोगको संक्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन् ।

प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा  पशु उपचारबाट निको भएको बताएको छ ।

लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउ खटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ ।

अभियानअन्तर्गत हालसम्म प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ । मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रमार्फत  खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।