काठमाडौं। पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिद प्रकरणमा तत्कालीन सचिव महेन्द्रमान गुरुङलाई जोगाएर आफूमाथि मात्रै मुद्दा चलाइएको आरोप लगाएका छन्। विशेष अदालतमा बयान दिँदै बस्नेतले सचिव गुरुङले प्रक्रिया मिचेर कार्यक्रम थपेको भए पनि आफूलाई मात्रै निशाना बनाइएको दाबी गरे।
बस्नेतले भने, “सचिवले पाँचवटा, राज्यमन्त्रीले एउटा र मैले एउटा कार्यक्रम थप गरेको निर्णयबाटै प्रष्ट हुन्छ। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो तथ्यलाई पूर्णरूपमा बेवास्ता गर्दै ममाथि पूर्वाग्रह राखी मुद्दा चलाएको छ।”
२३ भदौ २०७४ मा मन्त्री बस्नेतले दूरसञ्चार प्राधिकरणको वार्षिक बजेट स्वीकृत गर्दा ‘इन्टरनेशनल कल मोनिटरिङ र भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने’ वाक्यांश थपेका थिए। सोही निर्णयमा सातवटै प्रदेशका दुई-दुई जिल्लाका विद्यालयमा आईसीटी परियोजना सञ्चालन गर्ने कार्यक्रम पनि थपिएको थियो।
दूरसञ्चार प्राधिकरणले स्वीकृत गरेको १६ अर्ब ३३ करोड १७ लाखको बजेटमध्ये ५ अर्ब ८४ करोड प्राधिकरणको र बाँकी १० अर्ब ४९ करोड ग्रामीण दूरसञ्चार कोषबाट बेहोरिएको थियो। बस्नेतले थपेका चारवटा कार्यक्रममध्ये टेरामक्स प्रणाली स्थापना पनि समावेश थियो, जसका आधारमा प्राधिकरणले खरिद प्रक्रिया अघि बढाएको थियो।
सर्वोच्च अदालतले नागरिकको कल र म्यासेजमा कानुनबिना राज्यको हस्तक्षेप हुन नसक्ने नजीर स्थापित गरेको थियो। तर, कानुन नबनाई टेरामक्स प्रविधिमार्फत कल र म्यासेज मोनिटरिङको उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा ३ खर्ब ५१ करोड रुपैयाँको विगो मागदावी गरिएको छ।
विशेष अदालतमा बयान दिँदै बस्नेतले सचिव गुरुङको नामै तोकेर प्रक्रिया अघि बढाउन उनको भूमिका रहेको आरोप लगाए। उनले भने, “मैले एकल निर्णय गरेको होइन। सचिव गुरुङले तहगत टिप्पणीमा नवीनतम प्रविधि प्रयोग गर्ने उल्लेख गरेका थिए, राज्यमन्त्री तप्तबहादुर विष्टले पनि कार्यक्रम थपेका थिए।” पूर्वराज्यमन्त्री विष्टको कोरोना महामारीका बेला निधन भएको थियो।
बस्नेतले अन्तर्राष्ट्रिय कल बाइपासबाट राजस्व चुहावट रोक्न आफ्नो निर्णय आवश्यक रहेको र त्यसमा बदनियत नभएको जिकिर गरे। उनले भने, “मन्त्रीको हैसियतले कार्यक्रम थपघट र निर्देशन दिने अधिकार प्रयोग गरेको हुँ। अख्तियारले ममाथि झुटो र गैरकानुनी मुद्दा लगाएको छ।”

प्रतिक्रिया