चितवन । १४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस–२०२५’को अवसरमा मङ्गलबार चितवनको सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सरकारी तथा निजी स्वामित्वका ६० वटा हात्तीलाई २० भन्दा बढी परिकार वनभोजको रूपमा खुवाइएको हो।
धान, चना, सख्खर, उखु, मेवा, स्याउ, केरा, गाजरलगायत हात्तीलाई मनपर्ने परिकारहरू कार्यक्रम स्थलमै सजाइएका थिए। सहभागी हात्तीहरूले पालैपालो विभिन्न परिकारको स्वाद लिँदा स्थानीयवासी, हात्ती व्यवसायी तथा पर्यटकले उत्साहपूर्वक अवलोकन गरेका थिए।
आयोजक संस्थाका अनुसार, कार्यक्रमको उद्देश्य हात्ती संरक्षणको सन्देश फैलाउने र मानव–हात्ती मित्रता प्रवर्द्धन गर्नु हो। सो अवसरमा हात्ती संरक्षणबारे सचेतना मूलक सन्देशसमेत प्रवाह गरिएको थियो।




प्रतिक्रिया