काठमाडौं ।
सामाजिक अभियान्ता तथा गायिका मीना ढकालको नयाँ तीज गीत ‘न कसैसँग केही लिनु छ’ नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। यो गीतमा मीना ढकालको स्वर र शब्द रहेको छ भने संगीत वीक्रम थापाले दिएका छन्। गीतको एरेन्जमेन्ट भिषण मानन्धरले गरेका छन्।
गीतको म्युजिक भिडियोको निर्देशन राहुल बराइलीले गरेका छन् भने सिनेमाटोग्राफी मुकेश हुँमागाईँको टिमले सम्हालेको छ। भिडियोको रङ सम्पादन (कलर ग्रेडिङ) राजेन्द्र पुरीले गरेका छन्। म्युजिक भिडियोमा रुपा मानन्धरले अभिनयमार्फत ढकाललाई साथ दिएकी छिन्।
सामाजिक सञ्जाल ‘टिकटक’मा भाइरल बनेकी ढकाल समाजसेवा र व्यवसायमा पनि उत्तिकै सक्रिय छिन्। उनले समाजसेवासँगै गुन्द्रुक, मस्यौरा, तितौरा, अचार, दाल, तरकारीलगायतका परम्परागत अर्गानिक उत्पादनको व्यवसाय सञ्चालन गर्दै आएकी छिन्। समसामयिक विषयमा लेख, रचना र पुस्तक लेखनमा पनि सक्रिय ढकालले यो तीज गीतमार्फत नेपाली महिलाका दुख, पीडा र सशक्तिकरणको सन्देशलाई उजागर गरेकी छिन्।
नेपाली महिलाका हकअधिकारका लागि सधैं आवाज उठाउँदै आएकी ढकालको हक्की र कर्मठ स्वभावलाई यो गीतले थप उजागर गरेको छ। उनको यो गीतले तीजको रौनकमा सामाजिक सन्देश बोकेर सांगीतिक बजारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया