कुवेतमा विषाक्त मदिरा सेवनबाट २३ को मृत्यु, ९ जना नेपालीको ज्यान गयो

कुवेतमा विषाक्त मदिरा सेवनबाट २३ को मृत्यु, ९ जना नेपालीको ज्यान गयो


कुवेत । कुवेतमा मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । तीमध्ये ९ जना नेपाली रहेको कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिएका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकास बहादुर सिंह ९विकाससिंह ठकुरी० र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना विषाक्त मदिरा सेवनकै कारण अस्पतालमा उपचाररत रहेको जनाएका छन्।

उनीहरूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अपिल पत्रमा भनेका छन्, “कुवेत सरकारको ताजा जानकारीअनुसार मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ र १६० जना अस्पतालमा उपचाररत छन्।” परिषद्ले यस घटनामा गहिरो दुःख व्यक्त गर्दै कुवेतमा मदिरा सेवन, बिक्री र वितरण पूर्णतया निषेध गरिएको सम्झना दिलाएको छ। साथै, यस्ता अवैध र घातक कार्यमा संलग्न नहुन, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्न र कुवेतको कानुनको कडाइका साथ पालना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ।

दूतावासका अनुसार पछिल्ला तीन दिनमा मात्रै ९ जना नेपालीको निधन भएको छ भने १५ भन्दा बढी अस्पतालमा उपचाररत छन्। “उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्रै औपचारिक पुष्टि गर्न सकिन्छ,” श्रम सहचारी आचार्यले बताएका छन्। परराष्ट्र मन्त्रालयलाई समेत यसबारे जानकारी गराइएको छ।