जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित माथिल्लो खोप्री गाउँ आजसम्म पनि सडक सञ्जाल र विद्युत सेवाबाट वञ्चित छ। देशका धेरै ग्रामीण बस्तीमा आधारभूत पूर्वाधार पुगे पनि यो गाउँ अझै अँध्यारो र अलग्गै परेको छ। स्थानीयका अनुसार गाउँसम्म पुग्ने कुनै मोटरबाटो छैन।
पैदल हिँड्नु नै यहाँ पुग्ने एक मात्र विकल्प हो। बिरामी वा गर्भवती महिलालाई पनि डोको वा खाटमा बोकेर घण्टौँ टाढासम्म लैजानु पर्ने बाध्यता छ। विद्युत नहुँदा गाउँवासीले बत्ती बाल्न टुकी, माटोतेल वा सौर्य दियोमा भर पर्नु पर्छ। साँझ पर्नासाथ गाउँ अन्धकारमय बन्छ भने बालबालिकाको पढाइमा पनि असर परेको छ। “हामीले वर्षौँदेखि सडक र बिजुलीको माग गरिरहेका छौँ, तर अहिलेसम्म कसैले सुनुवाइ गरेन,” स्थानीयवासीहरूले गुनासो गरेका छन्।
तिला गाउँपालिकाले पनि गाउँको भौगोलिक दुर्गमता र बजेट अभावका कारण तत्काल सुविधा पुर्याउन कठिन भएको जनाएको छ। तर, स्थानीयले विकासका आधारभूत आवश्यकता तत्काल पूरा गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया