काठमाडौँ । कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएका ४८ कैदीबन्दीमध्ये सेती प्रादेशिक अस्पतालले नौ जनाबाहेक सबैलाई डिस्चार्ज गरिसकेको छ। तर डिस्चार्ज भएका कैदीबन्दीलाई कारागार प्रशासनले पुनः कैलाली कारागार फर्काउन सकेको छैन।
कारागार प्रशासक जालन्धर भुसालका अनुसार डिस्चार्ज भइसकेका २९ कैदीबन्दीलाई अहिले पनि अस्पतालमै राखिएको छ। तीमध्ये ६ जनालाई अन्य कारागारमा स्थानान्तरण गरिसकिएको छ भने गम्भीर अवस्थाका तीन जनालाई काठमाडौं रेफर गरिएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले “नौ जनाबाहेक सबैलाई डिस्चार्ज गरिसकिएको भए पनि कारागार प्रशासनले असुरक्षाको आकलन गर्दै अस्पतालमै राखेको” बताए।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पनि कारागारभित्र अझै तनाव कायमै भएकाले कैदीबन्दीलाई पुनः त्यहाँ नफर्काउने निर्णय भएको स्पष्ट पारे। उनका अनुसार बाँकीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने गृहकार्य भइरहेको छ। घाइतेको उपचार सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा गरिएको हो। त्यहाँ सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। कारागार प्रशासनका अनुसार अहिले कैलाली कारागारभित्र अवस्था सामान्य देखिए पनि पुनः आक्रमण हुन सक्ने त्रास कायमै रहेको छ।

प्रतिक्रिया