दुर्गा प्रसाईँको जिकिर : ‘तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ, थाहा पाएर भागेँ’

दुर्गा प्रसाईँको जिकिर : ‘तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ, थाहा पाएर भागेँ’


काठमाडौँ । दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ०८१ साल चैत १५ गते काठमाडौँको तीनकुने घटनाबारे पहिलो पटक बोलेका छन् ।

उनले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उक्त दिनको घटनाबारे बताएका हुन् ।

उनले करिब १० वर्षपछि आफूले पहिलो पटक सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताएका छन् ।

‘म गाडी लिएर प्रहरीकोमा गएँ । मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ,’ प्रसाईँले भनेका छन्, ‘त्यसपछि मलाई एक जना डीएसपी साबले आएर, तपाईँले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईँ गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो ।’

त्यसपछि आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको प्रसाईँले सुनाए ।

‘मैले मञ्चमा गएर प्रहरीसँग धक्का मुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्याँस नहान्नुस् भनेँ,’ प्रसाईँले भनेका छन् ।

त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईँले बताएका छन् ।

साथै, उनले उपत्यकामा कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको पनि बताएका छन् ।

‘मलाई त्यतिबेलै प्रहरीका एक जना सिभिलका मान्छे आएर तपाईँलाई मार्ने योजना छ भनेपछि म त्यहाँबाट निस्किएँ । म कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको थिएँ,’ प्रसाईँले सो दिनको घटनाबारे भने, ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । किनभने, यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरूको चान्स आउँदैन थियो । त्यही भएर मदन भण्डारीलाई मारियो ।’