वीरगञ्ज । वीरगञ्ज कारागारमा जीर्ण भौतिक संरचना र क्षमताभन्दा बढी कैदी तथा थुनुवाको सङ्ख्याले व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ। कारागारको क्षमता १,००० कैदीको भए पनि हाल १,३१० भन्दा बढी कैदी र थुनुवा रहेका छन्।
जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार, क्षमताभन्दा बढी कैदी र थुनुवा हुँदा व्यवस्थापनमा ठूलो समस्या भएको छ। विसं २०२९ देखि सञ्चालित यो कारागारको पुरानो संरचना र सीमित ठाउँले व्यवस्थापन कठिन बनेको छ। खुला ठाउँमा कारागार भए सहज हुने उनको भनाइ छ।
जिल्ला प्रशासन र कारागार व्यवस्थापनले चिनी मिल क्षेत्रमा १८ बिघा जमिनमा कारागार स्थानान्तरण गर्ने योजना बनाएको छ, तर यो अझै कार्यान्वयन भएको छैन। कारागारमा स्वदेशी र विदेशी गरी १,३१० कैदी र थुनुवा छन्। जसमा ५ स्वदेशी महिला कैदी, ४२ महिला थुनुवा, २ आश्रित बालिका, १,०४६ स्वदेशी पुरुष कैदी र थुनुवा, १९९ विदेशी पुरुष र १६ विदेशी महिला कैदी तथा थुनुवा रहेका छन्।
पर्सा र बाराका अदालतबाट दोषी ठहर भएका ३२९ कैदी र पुर्पक्षका लागि पठाइएका ९७९ थुनुवा यहाँ छन्। प्रमुख भुसालले बताएअनुसार, कैदी र थुनुवामा मौसमी बिरामी देखिन्छन्। सामान्य उपचार कारागारमै हुन्छ भने जटिल अवस्थामा नारायणी अस्पताल पठाइन्छ। कारागारमा ४७ शौचालय छन्, तर आलोपालो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।

प्रतिक्रिया