विद्यादेवीले पूर्वउपाध्यक्षको हैसियतमा कार्यक्रर्तालाई भनिन- “म एमाले हुँ”

विद्यादेवीले पूर्वउपाध्यक्षको हैसियतमा कार्यक्रर्तालाई भनिन- “म एमाले हुँ”


विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) मोरङको पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राख्न आग्रह गरेकी छन्। जिल्ला कमिटीका नेताहरूले यो औपचारिक कार्यक्रम नभएको बताए पनि भण्डारीले एमालेको पूर्वउपाध्यक्षको हैसियतमा कार्यकर्ताहरूलाई उत्साहित गरिन्।

उनले आफू पुनः पार्टीको सामान्य सदस्यको रूपमा सक्रिय भएको उल्लेख गर्दै भनिन्, “राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन सकिनँ। पदबाट मुक्त भएपछि मैले पार्टी सदस्यता नवीकरण गरेँ।” उनले ४५ वर्षअघि विराटनगरबाटै एमालेको सदस्यता लिएको र शपथ ग्रहण गरेको स्मरण गर्दै विराटनगर र मोरङलाई आफ्नो गृहजिल्ला र गृहनगरजस्तो लाग्ने बताइन्।

नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेकोमा जोड दिँदै भण्डारीले सामान्य सदस्यको हैसियतमा पनि राष्ट्रिय एजेन्डामा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा उनलाई पार्टी कार्यालयमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राई, जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापासहितका नेताहरूले स्वागत गरे। भण्डारीले पार्टी कार्यालय परिसरमा रहेको मदन-आश्रितको सालिकमा माल्यार्पण गरिन्। सो अवसरमा पाञ्चाली पुगेका नेताहरूले पनि उनको स्वागतमा सहभागिता जनाए।