भेरी अस्पतालमा नि:शुल्क डाइलायसिस सेवा

भेरी अस्पतालमा नि:शुल्क डाइलायसिस सेवा


नेपालगञ्ज (बाँके) । भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले नि:शुल्क डाइलायसिस सेवा पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले नि:शुल्क डाइलायसिस सेवा पाउने भएका हुन् ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी सङ्क्रमितलाई सेरोपोजेटिभ बिरामीको रूपमा परिभाषित गरिएको जानकारी दिए। बिरामीले एक वर्षमा रु तीन लाख बराबरको डाइलायसिस सेवा पाउनेछन् ।

अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुवेदीले बुधवारबाट सो सेवा सुरु हुने जानकारी दिए। हालसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डाइलायसिस, स्पाइन इन्जुरी, हेडइन्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधोपचार कार्यक्रमबाट नि:शुल्क सेवा लिँदै आएका थिए ।

अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचीकृतको अन्तिम तयारी थालिएको छ । सूचीकृत भए मिर्गौला प्रत्यारोपणका बिरामीहरूले भेरी अस्पतालबाटै रु सात लाख पाउनेछन् । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु चार लाख, औषधि खर्चबापत रु दुई लाख पाउने भएका हुन् ।