काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशनका प्रतिनिधिलाई बुधबार साँझ बालुवाटारमा प्रशिक्षण दिएका छन्। काठमाडौंका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र आफ्नो नेतृत्वबारे स्पष्ट धारणा राखे। प्रशिक्षणको संयोजन नेता रामेश्वर फुँयालले गरेका थिए भने काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले सामाजिक सञ्जालमार्फत प्रशिक्षणका ४८ बुँदा सार्वजनिक गरे। ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो मुख्य प्रतिस्पर्धीको रूपमा उल्लेख गर्दै उनको गतिविधिप्रति आक्रोश व्यक्त गरे।
भण्डारीले पार्टी सदस्यताका लागि निवेदन नदिएको र उनको सदस्यता नरहेको उनको दाबी छ। भण्डारीले पार्टी चलाउन अनुभव नभएको र मदन भण्डारीको सेन्टिमेन्टले मात्र नचल्ने भन्दै ओलीले उनलाई सम्झाएको बताए। उनले भण्डारीलाई सम्मान गरेको तर उनबाटै अपमानित भएको गुनासो गरे। साथै, भण्डारीलाई उचाल्ने कार्यमा ईश्वर पोखरेलले गलत बाटो लिएको टिप्पणी गरे। ओलीले विधान महाधिवेशनलाई एकताको अवसरको रूपमा प्रस्तुत गर्दै विपक्षमा जानेलाई हिसाबकिताब गरिने चेतावनी दिए। महाधिवेशनमा एक दिन दस्तावेज प्रस्तुति, एक दिन छलफल र अन्तिम दिन समापन हुने उनको भनाइ छ।
उनले विगतमा बामदेव गौतमले पार्टी नफुटाएको भए दुई तिहाइ मत प्राप्त हुने दाबी गरे। साथै, ७९ वर्षे उमेर हद हटाएर आफ्नो नेतृत्वलाई निरन्तरता दिने संकेत गर्दै आफू स्वस्थ रहेको बताए। पार्टीभित्र भण्डारीको फोटो राखेर ‘धन्दा’ गरेको भन्दै ओलीले केही नेताहरूप्रति असन्तुष्टि जनाए। उनले मदन भण्डारी फाउन्डेसनले जनताको बहुदलीय जनवादबचाउन नसक्ने टिप्पणी गरे।


प्रतिक्रिया