काठमाडौ । रौतहटमा तस्करीमार्फत भित्रिएको ७०० बोरा चिनी गायब बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना एसपी र एक जना डीएसपीलाई हेडक्वार्टर तानिएको छ। ११ नं। गण रौतहटका गणपति सन्तोष बस्नेत र सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकमा झिकाएर छानबिन थालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
यो प्रकरणमा यसअघि डीएसपी अमर लामालाई पनि हेडक्वार्टर तानिएको थियो। उनको नेतृत्वमा रौतहटको गरुडा नगरपालिका, शिवनगरस्थित उपेन्द्र सहनीको घरमा भन्सार छलेर भण्डारण गरिएको ७०० बोरा चिनी बरामद गर्न छापा मारिएको थियो। तर, गौर भन्सार कार्यालयमा जम्मा १०६ बोरा चिनी मात्र बुझाइएको पाइएपछि ५९४ बोरा चिनी गायब भएको विषयले तहल्का मच्चाएको छ। सशस्त्र प्रहरीका प्रमुख (आईजीपी) राजु अर्यालले यो प्रकरणको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन्।
प्रारम्भिक अनुसन्धानमा तस्करले केही रकम दिएर करिब ६०० बोरा चिनी बरामद नगर्न प्रहरीलाई प्रभावित गरेको आशंका गरिएको छ। हाल यो प्रकरणमा करिब २० जना सशस्त्र प्रहरी कर्मचारीमाथि छानबिन भइरहेको छ। छानबिनमा तानिएकाहरूमा ११ नं। गण रौतहटका एक इन्स्पेक्टर, सुरक्षा बेस देवाही र दुधियाभारका दुई इन्स्पेक्टर, दुई जना जुनियर सशस्त्र प्रहरी अधिकृत, र ११ जना जवान तथा हवलदारहरू समावेश छन्। यसअघि इन्स्पेक्टर रामचन्द्र लागेजुलाई छिन्नमस्ता बाहिनीले नसियत दिइसकेको छ। सहप्रवक्ता थापाले भने, “छानबिन भइरहेको छ। दोषी ठहरिएकाहरूलाई उनीहरूको भूमिकाअनुसार कारबाही हुनेछ।”
यो प्रकरण गत साउन अन्तिम साता तस्करीको ७०० बोरा चिनी भण्डारण गरिएको भिडियोसहितको सूचना हेडक्वार्टरमा आएपछि सुरु भएको थियो।

प्रतिक्रिया