अबको सुन्दरहरैंचा: विचार र विमर्श हुँदै यथार्थसम्म” वैचारिक फोरम शनिबार विराटचोकमा

अबको सुन्दरहरैंचा: विचार र विमर्श हुँदै यथार्थसम्म” वैचारिक फोरम शनिबार विराटचोकमा


सुन्दरहरैंचा – सुन्दरहरैंचाको दिगो विकासका लागि साझा रोडम्याप तय गर्ने उद्देश्यसहित “अबको सुन्दरहरैंचा: विचार र विमर्श हुँदै यथार्थसम्म” शीर्षकमा वैचारिक फोरम शनिबार विराटचोकस्थित नेपालिरिका होटलमा आयोजना हुँदैछ। इन्द्रपुर जेसीजको परियोजनाको रूपमा रहेको इन्द्रपुर जुनियर जेसीजको आयोजनामा हुने यस कार्यक्रममा नगरप्रमुख केदार गुरगाईंले नगरको वर्तमान अवस्था, अनुभव र आगामी योजनाबारे विशेष सम्बोधन गर्नेछन् भने रौंङ गाउँपालिकाका अध्यक्ष शुभास तामाङ विशेष अतिथिका रूपमा ग्रामीण विकास दृष्टिकोण प्रस्तुत गर्नेछन्।

फोरमलाई शिक्षा तथा स्वास्थ्य, सुशासन र पारदर्शिता, नीति तथा राजनीति, उद्यम, कृषि र संस्कृति गरी चार सत्रमा विभाजन गरिएको छ। शिक्षा तथा स्वास्थ्य सत्रमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलिया, आई.एन.जी. ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, बी.एम.सी.टी.एच.का सह–प्राध्यापक डा. सूर्य ब. पराजुली, सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी र सहजकर्ता डा. दिपक न्यौपाने बहस गर्नेछन्। सुशासन र पारदर्शितामा महालेखापरीक्षक माननीय तोयम राया, उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने र सहजकर्ता बाबुराम निरौला रहनेछन्। नीति तथा राजनराजनीतिमा पूर्व मेयर शिवप्रसाद ढकाल, पूर्व राज्यमन्त्री राजकुमार ओझा, राष्ट्रिय सभाका सदस्य माननीय गोपीबहादुर अछामी र सहजकर्ता विनय बाह्रकोटीले विचार राख्नेछन्। उद्यम, कृषि र संस्कृति सत्रमाएल.ओ. ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल, एग्रीग्रीन नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र उप्रेती, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईं, शिल्पी नाट्य केन्द्रका कला निर्देशक युवराज घिमिरे र सहजकर्ता निरज न्यौपाने सहभागी हुनेछन्।

आयोजकका अनुसार यो कार्यक्रम केवल आमन्त्रित अतिथिहरूका लागि मात्र हुनेछ, तर सहभागीहरू राजनीतिक दल, शैक्षिक संस्था, उद्योग, व्यवसाय, प्रशासन र सामाजिक क्षेत्रका प्रतिनिधि हुने भएकाले यसले बहुआयामिक विचारको संगम निर्माण गर्नेछ। इन्द्रपुर जुनियर जेसीजले यस फोरमलाई स्वस्थ बहस र विचार–विनिमयको मञ्चका रूपमा अघि सारेको छ, जसबाट तयार हुने प्रतिवेदन एक किसिमको “ऐतिहासिक दस्तावेज” बन्ने र सुन्दरहरैंचाको भविष्यको यात्रामा “कोसेढुङ्गा” का रूपमा योगदान गर्ने विश्वास लिइएको छ।