प्रहरीलाई विनोदले भने – डीएसपीहरू त म कहाँ सुन राखेर पैसा लैजान्छन्

प्रहरीलाई विनोदले भने – डीएसपीहरू त म कहाँ सुन राखेर पैसा लैजान्छन्


काठमाडौं । गोंगबुबाट साढे ९ किलो सुन र ४ करोड २५ लाख ५० हजार नगदसहित पक्राउ परेका विनोद श्रेष्ठले आफूकहाँ प्रहरीका अधिकृतहरूले पनि सुन राखेर नगद लैजाने गरेको जिकिर गरेका छन् । मिटरब्याजमा रकम लगाउने श्रेष्ठले आफ्नो घरमा छापा मार्न पुगेका प्रहरीहरूसँग यस्तो दाबी गरेका हुन् । मंगलबार मध्याह्न सादा पोसाकका प्रहरीहरूलाई उनले सोधे, ‘तपाईंहरू को हो रु’ अनुसन्धान अधिकृतहरूले आफूहरू प्रहरी भएको बताएपछि उनले थपे, ‘कुन दर्जा रु’ त्यसपछि अधिकृतहरूले आफ्नो दर्जा बताए । अनि श्रेष्ठले भने, ‘डीएसपीहरू त मकहाँ सुन राखेर पैसा लैजान्छन् । ‘
प्रहरीका अनुसार सुन धरौटीमा राखेर रकम लैजाने प्रहरी अधिकृतहरूको नामचाहिँ श्रेष्ठले खुलाएका छैनन् । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘डीएसपीहरूले पैसा लान्छन् भनेर उहाँले भन्नुभो तर, कसले भन्ने कुरा भन्नुभएको छैन ।’ पुर्ख्यौली घर गोरखा नगरपालिका–६ भएका श्रेष्ठले काठमाडौं–२६ मा घर बनाएका छन् । सो घरमा उनी र पत्नीमात्रै बस्छन् । मंगलबार प्रहरी छापा मार्न जाँदा ७६ वर्षीय श्रेष्ठकी पत्नी गोरखा गएकी थिइन् ।

उनको घरबाट प्रहरीले ४ करोड २५ लाख ५० हजार नगद र साढे ९ केजी सुन बरामद गरेको थियो । सम्पतिको स्रोत खुलाउन नसकेपछि श्रेष्ठलाई पक्राउ गरेर प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ । अदालतबाट म्याद लिएर श्रेष्ठमाथि अनुसन्धान थालिएको राजस्व अनुसन्धा विभागकी उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठले बताइन् । भनिन्, ‘अदालतबाट म्याद लिएर हामीले प्रारम्भिक अनुसन्धान थालेका छौँ ।’