काठमाडौँ । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्र ग्रहण लाग्दै छ। यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो।
खग्रास चन्द्र ग्रहण हुँदा चन्द्रमा रातो देखिनेछ। लालिमायुक्त यस्तो चन्द्रमालाई सामान्यतया ‘ब्लड मुन’ भनिन्छ।
पृथ्वीको वायुमण्डलले नीलो प्रकाशलाई तितरबितर पार्ने र रातो प्रकाश मात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने हो। यस्तो दृश्य नेपाल, भारतसहित एसिया, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसङ्ख्याले अवलोकन गर्न सक्नेछन्।
कति बेला देखिन्छ ?
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भएर राति १:४१ बजे अन्त्य हुनेछ। मौसम सफा रहे काठमाडौँबाट करिब साढे तीन घण्टा ग्रहण देख्न सकिनेछ। समितिका अनुसार यसै वर्ष फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्र ग्रहण पनि लाग्नेछ।
ग्रहण किन लाग्छ ?
खगोलविद्हरूका अनुसार सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा आउँदा चन्द्र ग्रहण लाग्छ। पृथ्वीको छायाले चन्द्रमालाई पूर्ण रूपमा ढाक्दा खग्रास र आंशिक रूपमा ढाक्दा खण्डग्रास चन्द्र ग्रहण हुन्छ।
सामान्यतया सूर्यको प्रकाश परेर चन्द्रमा देखिन्छ। तर पृथ्वी बीचमा परेपछि छायाले चन्द्रमालाई ढाक्छ र ग्रहण लाग्छ। त्यस्तै, सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यको प्रकाश अवरुद्ध भई पृथ्वीमा अँध्यारो हुन्छ, जसलाई सूर्य ग्रहण भनिन्छ।
चन्द्र ग्रहण वा सूर्य ग्रहण सामान्य खगोलीय घटना भए पनि धार्मिक मान्यताअनुसार यस अवधिलाई अशुभ मानिन्छ। पूजापाठ, खाना खाने, हास्यव्यङ्ग्य गर्ने वा सहवास गर्न नहुने विश्वास गरिन्छ। तर वैज्ञानिकहरूले यस्ता मान्यतालाई स्वीकार नगरी ग्रहणलाई वैज्ञानिक अध्ययन र अवलोकनको अवसरका रूपमा लिनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया