जेनजीको प्रदर्शनमा ‘घुसपैठ’ हुन सक्ने विश्लेषण, सुरक्षा रणनीति कडा

जेनजीको प्रदर्शनमा ‘घुसपैठ’ हुन सक्ने विश्लेषण, सुरक्षा रणनीति कडा


 

काठमाडौं । भ्रष्टाचारविरुद्ध सोमबार माइतीघरमा हुने प्रदर्शनलाई लिएर जिल्ला सुरक्षा समितिले व्यापक सुरक्षा रणनीति तय गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले प्रदर्शनका क्रममा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गर्दै एकीकृत सुरक्षा योजना लागू गरेको छ। सबल गौतम र पुरुषोत्तम यादवको संयोजकत्वमा आयोजना हुने यो प्रदर्शनमा युवाहरूको स्वतन्त्र सहभागिता रहने बताइएको छ।

स्थानीय प्रशासनले प्रदर्शनका लागि अनुमति प्रदान गरिसकेको छ। तर, प्रदर्शनमा ‘घुसपैठ’ को सम्भावना रहेको भन्दै सुरक्षा निकायहरू सतर्क छन्। उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाले भने, “हामीले घुसपैठको आकलन गरेर त्यहीअनुसार सुरक्षा रणनीति तयार गरेका छौं।” जिल्ला सुरक्षा समितिका एक सदस्यका अनुसार, प्रदर्शन शान्तिपूर्ण हुने आयोजकको दाबी भए पनि घुसपैठको सम्भावनालाई ध्यानमा राखेर प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू माइतीघरमा परिचालित हुनेछन्। उच्छृङ्खल गतिविधि रोक्न सादा पोसाकमा समेत प्रहरी खटाइने भएको छ। डीआईजी रानाले भने, “कानुनविपरीतका गतिविधि हुन दिँदैनौं, त्यसका लागि आवश्यक जनशक्ति परिचालन गरिएको छ।”

यसैबीच, चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर हालै थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। उनले ‘जेनजेडसँगै दुर्गा प्रसाईं’ भन्दै स्ट्याटस लेखेका छन्। यस्ता ऐक्यबद्धताले प्रदर्शनमा थप जटिलता थपिन सक्ने आकलन प्रहरीको छ।

‘नेपो बेवी’ ट्रेन्ड र जोखिम
सामाजिक सञ्जालमा युवा विद्यार्थीहरूले चलाएको ‘नेपो बेवी’ ट्रेन्डले प्रदर्शनमा थप जोखिम निम्त्याउन सक्ने आकलन गरिएको छ। यो ट्रेन्डले उच्च पदमा रहेका व्यक्तिका छोराछोरीले विशेष सुविधा लिएको भन्दै उनीहरूप्रति आक्रोश व्यक्त गर्ने लक्ष्य राखेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका एक अधिकृतका अनुसार, “नेतृत्वविहीन भिड अराजक बन्न सक्छ, जसले भीआईपीका छोराछोरी वा सम्पत्तिमा आक्रमण वा तोडफोडको जोखिम निम्त्याउन सक्छ।”
यसलाई रोक्न माइतीघरसहित अन्य सम्भावित जोखिम क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालित हुने काठमाडौंका एसपी अपिल बोहराले बताए। उनले भने, “हामीले प्रदर्शनलाई नियन्त्रणमा राख्न र अवाञ्छित गतिविधि रोक्न पर्याप्त तयारी गरेका छौं।”
प्रदर्शन आयोजकहरूले शान्तिपूर्ण र कानुनको पालना गर्ने प्रतिबद्धता जनाएका छन्। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले निषेधित क्षेत्रमा प्रवेश नगर्ने शर्तमा प्रदर्शनको अनुमति दिइएको बताए। उनले भने, “आयोजकहरूले कानुन बुझ्ने र पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।”
प्रदर्शनको नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्ने वा तोडफोड गर्ने प्रयास भएमा कडा कारबाही गर्ने प्रहरीको तयारी छ। सुरक्षा समितिले प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सबै पक्षसँग समन्वय गरिरहेको जनाएको छ।