विदेशी नागरिकलाई भिसा नियमित गरेर प्रस्थान अनुमति दिने अध्यागमन विभागको निर्णय

विदेशी नागरिकलाई भिसा नियमित गरेर प्रस्थान अनुमति दिने अध्यागमन विभागको निर्णय


काठमाडौँ । जेन जेड समूहको आन्दोलनका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकलाई अध्यागमन विभागले संवेदनशील दृष्टिकोण अपनाउँदै आवश्यक सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालका अनुसार, भाद्र २३ गतेसम्म (सन् २०२५, सेप्टेम्बर ८) भिसा नियमित भई निषेधाज्ञा कायम रहेको अवधिभित्रै नेपाल छोड्नुपर्ने विदेशी नागरिकका लागि प्रस्थान बिन्दुका अध्यागमन कार्यालयहरूले निःशुल्क भिसा नियमित गरी प्रस्थान अनुमति दिने व्यवस्था मिलाएको छ।

त्यसै गरी, उक्त अवधिमा राहदानी हराएका र सम्बन्धित मुलुकको दूतावासबाट यात्रा अनुमतिपत्र वा इमर्जेन्सी राहदानी प्राप्त गरेका विदेशी नागरिकले पनि नियमानुसार आफ्नो भिसा स्थानान्तरण गरी अध्यागमन कार्यालयबाटै भिसा नियमित गराएर प्रस्थान गर्न सक्ने व्यवस्था गरिएको छ।

अध्यागमन विभागले विदेशी नागरिकलाई असुविधा नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरेको जानकारी दिँदै सबै सम्बन्धित पक्षलाई सचेत रहन अनुरोध गरेको छ।