जापान र बेलायतले प्रधानमन्त्री कार्कीलाई दिए बधाई

जापान र बेलायतले प्रधानमन्त्री कार्कीलाई दिए बधाई


काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रवार नेपालको प्रधानमन्त्री नियुक्त भएलगत्तै बेलायत र जापानले बधाई दिएका छन् ।

बेलायती दूतावासले साँझ जारी गरेको विज्ञप्तिमा कार्कीको नियुक्तीलाई  गत साताका दुःखद घटनापछि मुलुकलाई स्थायित्वतर्फ लैजाने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ ।

‘नेपाल धनको क्षति, घाइते र सम्पत्तिको नोक्सानीबाट स्तब्ध छ । यस्तो परिस्थितिमा कार्कीको नियुक्ति स्थिरता र संक्रमण अन्त्यतर्फको निर्णायक कदम हो’ दूतावासले भनेको छ ।

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भन्दै आगामी चुनौतीहरूसँगै जवाफदेहित्ता र समावेशी सुशासनप्रतिको नेपाली जनताको आकांक्षामा निरन्तर समर्थन रहने प्रतिबद्धता जनाएको छ ।

जापान सरकारले पनि कार्कीको नियुक्तिलाई स्वागत गर्दै नेपाल शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमणतर्फ अघि बढोस् भन्ने अपेक्षा व्यक्त गरेको छ।

काठमाडौंस्थित जापानी दूतावासले कार्कीको नियुक्तिलाई स्थायित्व र लोकतान्त्रिक शासन सुनिश्चित गर्ने महत्वपूर्ण कदम भनेको छ।
‘नेपालले सकेसम्म छिटो शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमण पूरा गरोस् भन्ने जापान सरकारको दृढ आशा छ । आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको कदमलाई हामी स्वागत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

जापानले नेपालको दिगो विकास र समृद्धिमा निरन्तर सहयोग गर्ने तथा दुई देशबीचको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता पनि जनाएको छ।