कुलेखानी जलाशय नभरिँदा हिउँदमा काठमाडौँमा विद्युत् अभावको जोखिम

कुलेखानी जलाशय नभरिँदा हिउँदमा काठमाडौँमा विद्युत् अभावको जोखिम


मकवानपुर।  इन्द्रसरोवर गाउँपालिका-१ र २ मा रहेको कुलेखानी जलाशय असोज दोस्रो सातासम्म पनि नभरिँदा आगामी हिउँदमा काठमाडौँ उपत्यकामा विद्युत् अभाव हुने सम्भावना बढेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार शुक्रबार  जलाशयको पानीको सतह १,५०४ मिटर मात्र छ, जुन पूर्ण क्षमताको १,५३० मिटरभन्दा २४ मिटर कम हो।

“यस वर्ष जलाधार क्षेत्रमा पर्याप्त वर्षा भएन,” भट्टले भने, “गत वर्ष यही समयमा जलाशय लगभग भरिएको थियो र असोज १२ मा त बाँध खोल्नुपरेको थियो। तर, अहिले पानीको सतह दिनमा १५-२० सेन्टिमिटर मात्र बढिरहेको छ।”

कुलेखानी जलविद्युत् आयोजना काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिको प्रमुख स्रोत हो। तर, अपर्याप्त वर्षाका कारण जलाशयको सतह घट्दै गएपछि आयोजनाको सञ्चालन समय कटौती गरिएको छ। भट्टका अनुसार, जलाशयवरपरका खोलाहरूबाट पानी जम्मा हुने अवस्था कमजोर छ। “गत वर्ष यो समयमा जलाशय १,५२८ मिटरको हाराहारीमा थियो। यो वर्ष वर्षा नहुँदा पानीको सतह न्यून छ,” उनले थपे।

कुलेखानी जलाशय, जुन ३०० मिटर चौडा र ७ किलोमिटर लामो छ, अधिकतम ८५ लाख घनमिटर पानी भण्डारण गर्न सक्छ। यसको अधिकतम सतह १,५३० मिटर र न्यूनतम १,४८४ मिटर हो। यो नेपालको पहिलो मानव निर्मित जलाशययुक्त जलविद्युत् आयोजना हो, जसले ६० मेगावाट विद्युत् उत्पादन गर्छ।

“यदि अब गत वर्षजस्तै वर्षा भएन भने जलाशय भरिने सम्भावना कम छ,” भट्टले चिन्ता व्यक्त गरे। “यस्तो अवस्थामा हिउँदमा काठमाडौँ उपत्यकामा विद्युत् अभाव हुन सक्छ।”