काठमाडौ । निरन्तर वर्षाको कारण उदयपुरको बेलका नगरपालिकामा सप्तकोशी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार सप्तकोशी तटीय क्षेत्रका बस्तीमा बाढी पस्दा डुबानमा परेका हुन् । उनले भने, ‘सप्तकोशीको बाढी नपसे पनि स्थानीय खोलानालामा बाढी आउँदा र आकाशबाट परेको पानीको निकास नहुँदा बस्ती डुबानमा परेका छन् । जोखिममा परेका ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिकासहित १२८ जनलाई उद्धार गरिएको छ ।’ उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको थियो ।
उद्धार गरेकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्कीले सप्तकोशी तटीय क्षेत्रमा रहेका वडा नम्बर १, २, ३, ८ र ९ जोखिममा परेको जानकारी दिए । उनले भने, ‘अहिले डुबानमा परेका बस्तीहरू पनि त्यही वडाका हुन् ।’ मेयर कार्कीका अनुसार स्थानीय खोलानालामा पानीको बहाव बढेका कारण धानखेतीमा पनि ठुलो क्षति पुगेको छ । उनले भने, ‘अहिले डुबानको समस्या आकाशको पानीको निकास नहुँदा भएको हो ।
आकाशबाट पानी परेको कारण झन्डै १२ हजार जनसंख्या प्रभावित भएको छ ।’ बेलका क्षेत्रमा हाल विद्युतविहीन भएको बताउँदै कार्कीले आकाशबाट पानी पर्न नछाडेसम्म जोखिम कायम रहने जानकारी दिए । वर्षको कारण बाढीमा परेर उदयपुरमा दुईजनाको मृत्यु भएको छ भने पहिरोको उच्च खोजिम रहेको र सडकको अवस्था जीर्ण रहेकोले गत १८ देखि २१ असोज गते बिहान ५ बजेसम्मका लागि सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

प्रतिक्रिया