कांग्रेस सभापति देउवा ३४ दिनपछि आज सार्वजनिक हुने

कांग्रेस सभापति देउवा ३४ दिनपछि आज सार्वजनिक हुने


काठमाडौ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा ‘जेनजी आन्दोलन’मा कुटिएर घाइते भएपछि ३४ दिनदेखि सार्वजनिक कार्यक्रममा्टबाट टाढा रहँदै आएका थिए। आजको बैठकमार्फत उनी पहिलो पटक पार्टी नेताहरूमाझ देखा पर्नेछन्।
बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुने गरी तयारी गरिएको छ। केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरू यसका लागि काठमाडौं आइपुगेका छन्। बैठकमा पार्टीको आन्तरिक संगठनात्मक अवस्था, भ्रातृ संस्थाहरूको गतिविधि र समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ।
गत भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीहरूको आक्रमणमा परेका देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवा गम्भीर घाइते भएका थिए। आक्रमणकारीहरूले घरमा आगजनीसमेत गरेका थिए। सो घटनापछि देउवा दम्पती आफन्तको घरमा बस्दै आएका छन्। चिकित्सकहरूका अनुसार उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ, तर पूर्ण रूपमा सार्वजनिक जीवनमा फर्कन अझै समय लाग्ने बताइएको छ।
यो बैठकले पार्टीभित्रको एकताको सन्देश दिने र देउवाको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी दिने विश्वास गरिएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकमा सभापतिको उपस्थितिले पार्टी कार्यकर्ताहरूमा नयाँ ऊर्जा भर्ने बताएका छन्।
घटनाको छानबिनका लागि सरकारले गठन गरेको समितिले अझै प्रतिवेदन बुझाएको छैन। आन्दोलनकारीहरूले उठाएका मागहरू र राजनीतिक अस्थिरताबारे पनि बैठकमा छलफल हुने सम्भावना छ।