सङ्गठनका नेताको संरक्षणमा सङ्घीय मामिला मन्त्रालयको स्टोरमा पौडेलको मस्ती

सङ्गठनका नेताको संरक्षणमा सङ्घीय मामिला मन्त्रालयको स्टोरमा पौडेलको मस्ती


काठमाडौं। कर्मचारी सङ्गठनका नेताको संरक्षणमा लामो समयदेखि स्टोरमा हिनामिनाको खेल भइरहेको खुलासा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्टोरमा कार्यरत नायव सुब्बा तेजनारायण पौडेल लामो समयदेखि मनपरी र हिनामिना गर्दै आएको खुलासा भएको हो।

उनी २०७८ सालदेखि सो मन्त्रालयको स्टोरमा निरन्तर कार्यरत छन् । सामान्यतया एक कर्मचारी कुनै अड्डामा दुई वर्षभन्दा धेरै बस्ने नियम छैन । तर, स्टोरमा यिनले मस्ती मारेको चार वर्ष भइसक्यो । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पौडेललाई हटाउन खोज्दा पनि सफल हुन सकेनन् ।

कर्मचारी सङ्गठनका नेता रामचन्द्र अधिकारी र उमेश पराजुलीले उनको बचाउ गर्दै मन्त्रालयमै जोगाइराखेका थिए । त्यसयता पौडेलको हर्कत झन् निडर र डरलाग्दो बन्दै गएको छ ।

मन्त्रालयका कर्मचारीहरूका अनुसार पौडेलले १० वटा सामानको फारम भर्न लगाएर एउटा मात्रै सामान कर्मचारीलाई दिने र बाँकी नौ वटा सामान विभिन्न फर्महरूसँग मिलेर झिक्ने गरेका छन् ।

सरकारी सामग्रीको यस्ता अनियमित हिनामिनाबाट उनले ठुलो मात्रामा धनार्जन गरेका छन् । उनको आर्थिक हैसियत हेर्ने हो भने पनि यसको पुष्टि हुन्छ । सामान्य परिवारका पौडेलको अहिले अकुत आर्जन भेटिन्छ ।

दलका मन्त्रीदेखि सचिवसम्म र सामान्य कर्मचारीहरूसँग समेत पौडेलको साठगाँठ रहेको छ । यही सम्बन्ध र राजनीतिक संरक्षणका कारण उनी लामो समयदेखि एउटै पदमा छन् ।

पौडेलले २०७२ सालमा मुस्ताङ मालपोत कार्यालयमा खरिदारको रूपमा सरकारी सेवा सुरु गरेका थिए । २०७७ साल जेठमा उनी नायव सुब्बा पदमा बढुवा भएका हुन् । विज्ञान सङ्कायमा प्रवीणता तह र स्नातक गरेका पौडेलले २०६० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए ।

मन्त्रालयभित्रका कर्मचारीहरूका अनुसार, पौडेलको नेटवर्क यति बलियो छ कि कुनै पनि सामान स्टोरबाट बाहिर निकाल्दा वा वितरण गर्दा उनको स्वीकृति बिना सम्भव हुँदैन । धेरैजसो सामग्रीको अभिलेखसमेत अद्यावधिक नगरी फरक–फरक फर्महरूमार्फत चलाइने गरेको छ ।

पौडेलको सम्पत्ति र अन्य घटनाको तत्काल छानबिन गर्नुपर्ने एक कर्मचारीले बताए । उनी विरुद्ध विभिन्न निकायमा उजुरी पनि परेको छ । मन्त्रालयको स्टोरमा यस्ता किसिमका हिनामिनाले राज्यको सम्पत्तिमाथि ठुला प्रश्न खडा गरेको छ ।

यस्ता हर्कतमा संलग्न कर्मचारी र उनीहरूलाई संरक्षण गर्ने नेताहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउन दल निकट नभएका कर्मचारीहरुले माग गरेका छन् ।