कांग्रेस र एमाले केन्द्रीय समिति बैठक एकै दिन

कांग्रेस र एमाले केन्द्रीय समिति बैठक एकै दिन


काठमाडौँ । कांग्रेस र एमालेको केन्द्रीय समिति बैठक बिहीबार एकैदिन बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक उनको नेतृत्वमा केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने छ । बैठकमा केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई आमन्त्रण गरिएको छ । केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने छ । कांग्रेसमा संस्थापन पक्ष वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा छ । तर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताहरु मंसिरमै नियमित महाधिवेशन गर्ने, नभए विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्ने अडानमा छ ।

यस्तै, एमालेको १०औँ केन्द्रीय कमिटी बैठकको बिहीबार पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी बैठकमा अध्यक्ष केपी ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रमअनुसार उल्टोतिरबाट (ज्ञ बाट) पालो मिलाइएको छ ।

बुधबारको बैठकमा अध्यक्ष ओलीले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तय भएको छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्टजवाफ दिने तयारी छ । ओलीले महाधिवेशनबाटै आफूलाई फाल्न चुनौती दिएका छन् । अहिलेसम्म कसैले ओलीविरुद्ध बोल्न आँट गरेका छैनन् ।