काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच आज शीतलनिवासमा भएको वार्ता सकारात्मक वातावरणमा सकिएको छ। गत सोमबारका लागि तय भएको यो वार्ता राष्ट्रपति पौडेलको स्वास्थ्य समस्या कारण स्थगित भएपछि आज ढिलाइ भएर साढे ५ बजेदेखि सुरु भएको थियो। करिब दुई घण्टाको छलफलपछि वार्ता सम्पन्न हुँदा दुवै पक्षले आगामी चरणका लागि आशावादी सन्देश दिएका छन्। वार्तामा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकारका प्रमुख मन्त्रीहरू पनि सहभागी थिए। मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै कार्की शीतलनिवास पुगेकी थिइन्। जेनजी पक्षबाट २० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए, जसमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशीका साथै अन्य युवा अगुवाहरू पनि थिए।
छलफलमा जेनजी आन्दोलनका प्रमुख मागहरूमा छलफल भएको बताइएको छ । उनीहरुले राखेका भ्रष्टाचार उन्मूलन, बेरोजगारी न्यूनीकरण, राजनीतिक सुधार, न्यायिक सुधार र युवाहरूको सहभागिता वृद्धि – बारे विस्तृत बहस भएको शीतलनिवास स्रोतले जनाएको छ। जेनजी प्रतिनिधिहरूले सरकारसँगको सहकार्यमा नयाँ नेपाल निर्माणको खाका प्रस्तुत गरेका थिए। प्रधानमन्त्री कार्कीले युवाहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूलाई भविष्यको निर्माणमा साझेदार बनाउने प्रतिबद्धता दोहोर्याइन्। राष्ट्रपति पौडेलले शान्तिपूर्ण समाधान र संवैधानिक दायराभित्रका सुधारहरूको पक्षमा जोड दिँदै सबै पक्षलाई सहयोग गर्न अपिल गरे।
एक जेनजी प्रतिनिधिका अनुसार, ूवार्ता सकारात्मक रह्यो। हाम्रा मागहरूको सम्बोधनका लागि ठोस समयसीमा र कार्ययोजना बनाउने सहमति भएको छ। यद्यपि, छलफलका विस्तृत विवरणहरू सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया