पुनर्निर्माणमा सघाउन चीनस्थित नेपाली दूतावासको अपिल

पुनर्निर्माणमा सघाउन चीनस्थित नेपाली दूतावासको अपिल


काठमाडौँ । चीनको बेइजिङस्थित नेपाली राजदूतावासले पूर्वाधार पुनर्निर्माणको राष्ट्रिय अभियानमा सघाउन अपिल गरेको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै २३ र २४ भदौमा चलेको जेनजी आन्दोलनको क्रममा देशभरका महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूमा भयानक क्षति भएको भन्दै पुनर्निर्माणमा सघाउन अपिल गरेको हो।

‘८ र ९ सेप्टेम्बर २०२५ ९२३ र २४ भदौ २०८२० मा जेनजी आन्दोलनको क्रममा देशभरका भौतिक पूर्वाधारमा असाधारण क्षति पुगेको छ। नेपाल सरकारले उद्धार, ध्वस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, तहसनहस भएको आर्थिक क्षेत्रको पुनर्स्थापनालगायतमा सहायताका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ,’ दूतावासले भनेको छ, ‘बेइजिङस्थित नेपाली दूतावास आफ्ना नागरिकहरू, गैरआवासीय नेपाली समुदाय र चिनियाँ समुदाय, अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पुनर्निर्माणमा सघाउन हार्दिक अपिल गर्दछ।’

दूतावासले देश पुनर्निर्माणको राष्ट्रिय महाअभियानमा जोडिन चाहने नेपाली नागरिकहरूले आर्थिक सहायताको योगदान गरेमा वर्तमान आर्थिक वर्षको करयोग्य आम्दानीबाट त्यसलाई घटाइने जानकारी गराएको छ।

दूतावासले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहायताको लागि सिंहदरबार काठमाडौँस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सकिने जनाएको छ।