अब जेनजी र दलहरू बस्न बालुवाटार बैठकमा प्रधानमन्त्रीको प्रस्ताव

अब जेनजी र दलहरू बस्न बालुवाटार बैठकमा प्रधानमन्त्रीको प्रस्ताव


काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेनजीसँगै बस्न नयाँ प्रस्ताव गरेकी छिन् । मंगलबार वालुवाटारमा जारी दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेकी हुन् ।

दलहरूले राखेको चुनावीको चासोपछि जवाफ दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ।’

साथै प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन तयार रहेको बताइन् । ‘चुनाव गराउन सरकार कटिबद्ध छ,’ उनले भनिन्, ‘ यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ।’

यस्तै प्रधानमन्त्री कार्कीसँग दलहरूले संवादमा ढिलाइ किन भन्ने प्रश्न गरेका थिए भने जवाफमा प्रधानमन्त्रीले जेनजी घाइतेहरूको उपचार र शहीदका शव व्यवस्थापन तथा परिवारका लागि राहत जुटाउँदा समय लागेको बताइन् ।

उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो।सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन।’

उनले चुनाव सफल बनाउन र दलहरूको चासो सम्बोधन गर्न सरकार तयार रहेकोसमेत स्पष्ट पारिन्। ‘ जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ,’ उनले भनिन्, ‘ यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ।’