काठमाडौ । मन्त्रिपरिषद्लाई पूर्णता दिने सन्दर्भमा सबै जाति, समुदाय र भेगको प्रतिनिधित्व गराउने बहस चल्दै गर्दा सुनारको नाम जेनजीकै एउटा समूहले प्रस्ताव गरेको थियो । सरकारमा दलितको प्रतिनिधित्वका हिसाबले यसअघि नै मदन परियारको मन्त्रिपरिषद्मा प्रवेश भइसकेको थियो । तर, पछिल्लोचोटी मन्त्रिपरिषद्मा उनलाई कर्णालीको प्रतिनिधित्व गराउने सन्दर्भमा नाम बालुवाटारमा पुगेको थियो ।
सुनारले दलित अधिकारका लागि लडेको, स्पष्ट बोल्ने र अधिकारका लागि संघर्षरत व्यक्ति भन्दै उनको चर्चा गरिएको थियो । त्यही क्रममा उनले पनि मन्त्री बन्नका लागि जेनजीका विभिन्न समूहसँग धाइरहेका थिए । जसको बलमा उनको नाम बालुवाटारमा पुग्यो । सुनार आफैं पनि प्रधानमन्त्रीका लागि अपरिचित पात्र थिएनन् ।
त्यसैले शनिबार साँझसम्म उनलाई मन्त्री बनाउने कुरा भयो । तर जब मन्त्री बन्ने निश्चित जस्तो भयो त्यसपछि जेनजीकै केही महिलाहरूले सुनारले विगतमा महिलाहरूप्रति अपमान गरेको, ट्रयाक रेकर्ड राम्रो नरहेको भन्दै बालुवाटारमा खबर पुर्याए । त्यसपछि उनलाई श्रम तथा रोजगारमन्त्री बनाउने कि नबनाउने भन्ने अन्योल थियो । प्रधानमन्त्री निकट स्रोतका अनुसार, आइतबार बिहान चार जना मन्त्रीको नाम सार्वजनिक भएपछि सुनारका बारेमा विगतका विवादसहितका सबै प्रमाणहरू बाहिर आए । जुन प्रमाणहरूको आधारमा उनलाई मन्त्री बनाउन सिफारिस गर्ने जेनजी समूहले पनि ‘गलत सिफरिस गरेछौं’ भन्दै आफैं सन्देश पठाएका थिए । त्यसपछि सुनारको नाम सूचीबाट हट्यो । सुनारविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी जारी भएको थियो । उनले एक महिला अधिवक्ता विरुद्ध लेखेको लेखेका थिए । २०७८र७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए ।
उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । सुर्खेतको मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा। सोजन सापकोटाले जाहेरी दिएपछि अदालतले खगेन्द्रलाई सात दिन भित्र पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र लेखेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यी दुवै मुद्दा फर्स्योट नभएको र उनी फरार अभियुक्तको रेकर्डमा छ ।
अदालतको अपहेलना, अपशब्द र विद्युतीय कारोबारको आरोप लागेका सुनार काभ्रेपलाञ्चोक जिल्ला अदालतको फरार सूचीमा रहेका थिए । अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् । प्रहरीले २०८२ साल साउन २ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारको पक्राउ पुर्जी जारी भएको थियो । साउन ५ गते पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय दैलेखमा सुनार पक्राउको लागि पत्र पठाइएको थियो ।

प्रतिक्रिया