भारत। नेपालले कप्तान सावित्रा भण्डारी साम्बाको उत्कृष्ट प्रदर्शनमा त्रिकोणात्मक मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ। भारतको सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले शानदार प्रदर्शन गर्दै महत्वपूर्ण जित हासिल गरेको हो।
खेलको दोस्रो मिनेटमा साम्बाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। दोस्रो हाफको ६३औँ मिनेटमा उनले फ्रिकिकमार्फत दोस्रो गोल थपेर नेपालको अग्रता दोब्बर बनाइन्। भारतका लागि ८१औँ मिनेटमा करिश्मा पुरुषोत्तमले एक शान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।
यो हारसँगै भारतले त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा लगातार दोस्रो पराजय व्यहोरेको छ। नेपाल भने पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो। त्रिकोणात्मक खेलपछि नेपाल र भारतबीच आगामी नोभेम्बर १३ मा अर्को मैत्रीपूर्ण खेल हुने तय भएको छ।
कप्तान साम्बाको नेतृत्व र गोल गर्ने क्षमताले नेपालको टोलीको मनोबल उच्च भएको छ। यो जितले नेपाली महिला फुटबल टोलीको अन्तर्राष्ट्रिय मञ्चमा सम्भावना उजागर गरेको छ।

प्रतिक्रिया