काठमाडौं, कार्तिक १४ – नेपाली कांग्रेसको नियमित महाधिवेशनलाई तत्काल सम्पन्न गर्नुपर्ने दबाब चर्किएको छ। आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिकामाथि छलफल भए पनि ठोस निर्णय नआएपछि पार्टीका ६ महानगर सभापतिहरूले संयुक्त रूपमा एक महिनाभित्रै नियमित महाधिवेशन सम्पन्न गर्न सकिने कार्यतालिका नै प्रस्ताव गरेका छन्। उनीहरूले जेनजी आन्दोलनको भावना, नेतृत्व परिवर्तन र चुनावी तयारीलाई जोड दिँदै ‘इच्छाशक्ति भए असम्भव छैन’ भन्दै केन्द्रलाई दबाब दिएका छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाए पनि महानगर सभापतिहरू नियमित महाधिवेशनकै पक्षमा एकमत छन्। उनीहरूका अनुसार, नियमित अधिवेशनले तल्लो तहबाट नयाँ नेतृत्व उब्जाउँछ, गुटउपगुट अन्त्य हुन्छ र पार्टी एकढिक्का बन्छ। विशेष महाधिवेशनले भने पुरानै प्रतिनिधिबाट नेतृत्व परिवर्तन सीमित रहने र फुटको जोखिम बढ्ने तर्क राखेका छन्।
ललितपुर महानगर सभापति शुभानन धाख्वाको अध्यक्षतामा बसेको बैठकमा सभापति धाख्वाले नियमित अधिवेशनले तल्लो तहबाट नयाँ नेतृत्व उब्जाउँछ, गुटउपगुट अन्त्य हुन्छ र पार्टी एकढिक्का बन्छ। विशेष महाधिवेशनले भने पुरानै प्रतिनिधिबाट नेतृत्व परिवर्तन सीमित रहने र फुटको जोखिम बढ्ने तर्क राखेका छन्।
काठमाडौं महानगर सभापति नीलकाजी शाक्यले भने, “जेनजी आन्दोलनको भावना समेटेर नयाँ नेतृत्व ल्याउन समयमै नियमित महाधिवेशन जरुरी छ। समय भनेको इच्छाशक्ति हो। इच्छाशक्ति छ भने एक महिनामै सम्भव छ। केन्द्रीय समितिले ढिलाइ गरे कार्यकर्तामा विद्रोहको सम्भावना छ। राष्ट्र बरबादतिर जाँदैछ, कांग्रेसले नै देश बचाउनुपर्छ।”
विराटनगर महानगर सभापति दीपक चापागाइँले ग्राउन्ड लेभलको असन्तुष्टि औंल्याउँदै भने, “अहिलेकै पुरानो नेतृत्वले कांग्रेसलाई ऊर्जा दिन सक्दैन। तलबाट आगो बलिरहेको छ। नियमित महाधिवेशन नगरे अकल्पनीय विद्रोह हुन्छ। विशेषभन्दा नियमितले सबैलाई समेट्छ र पार्टी बलियो बन्छ। केन्द्रले आलटाल गरेर टिकट वितरण र सत्ता खेलमा लागेको छ।”
पोखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छेले थपे, “विधानअनुसार महाधिवेशनको समय हो। जेनजी आन्दोलनपछि कार्यकर्तामा निराशा छ। नियमित महाधिवेशनले तल्लो तहदेखि नयाँ नेतृत्व ल्याउँछ, गुट अन्त्य गर्छ। फागुन २१ को चुनावमा बलियो पार्टी चाहियो। काम गर्ने हो भने एक महिनामै सम्भव छ।”
वीरगन्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ (नेपाली)ले तीन कारण उल्लेख गरे : “पहिलो, मंसिरमा म्याद सकिन्छ। दोस्रो, नयाँ परिस्थितिमा फ्रेस नेतृत्व चाहियो। तेस्रो, यो नेतृत्वमा चुनाव जितिँदैन। नियमित महाधिवेशनले युवालाई अवसर दिन्छ। विशेषले फुट निम्त्याउन सक्छ। नियत भए १०–१५ दिनमै क्रियाशील टुंग्याएर अधिवेशन गर्न सकिन्छ। हामी महानगरमा महाधिवेशन गराउन जिम्मेवारी लिन्छौं।”
भरतपुर महानगर सभापति चित्रसेन अधिकारीले भने, “देश विषम परिस्थितिमा छ। युवाको विद्रोहले परिवर्तन मागेको छ। नियमित महाधिवेशनले युवालाई नेतृत्वमा ल्याउँछ, पार्टी एकढिक्का बनाउँछ। क्रियाशील काम धेरै सकिएको छ, बाँकी चाँडै टुंग्याउन सकिन्छ। म्याद थप सम्भव छैन, विद्रोह हुन्छ।”
महानगर सभापतिहरूले संस्थापन पक्षको ‘समय पुग्दैन’ बहाना खारेज गर्दै क्रियाशील सदस्यता स्वतः नवीकरण, १० दिन दाबी–विरोध, एकैदिन वडा अधिवेशन जस्ता व्यावहारिक उपाय सुझाएका छन्। उनीहरूले महाधिवेशन ६ महानगरमै आयोजना गर्न सकिने र प्रतिनिधि बढी हुने भएकाले सहज हुने दाबी गरे।
सभापतिहरूले चेतावनी दिए – म्याद थपिए पार्टीभित्र अकल्पनीय विद्रोह हुन्छ। “जेनजी आन्दोलनले सत्ता परिवर्तन गर्यो, कांग्रेस रूपान्तरण नभए तलबाट बिस्फोट हुन्छ,” उनीहरूको साझा भनाइ छ। उनीहरूले केन्द्रीय बैठकले कार्यतालिका नल्याए फेरि बैठक बसेर थप कदम चाल्ने बताए।
कांग्रेसभित्र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुसभित्र नियमित नभए विशेष गर्ने पक्षमा छन् भने शेखर कोइराला मंसिरमै नियमितको अडानमा। संस्थापन भने वैशाखपछि मात्र। तर महानगर सभापतिहरूको प्रस्तावले नियमित महाधिवेशनको पक्ष बलियो बनेको छ।

प्रतिक्रिया