कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे सहमतिको प्रयासमा डा.कोइराला

कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे सहमतिको प्रयासमा डा.कोइराला

शेखर कोइराला : “पार्टीभित्र दुईवटा प्रस्ताव होइन, एउटै सहमतिको कार्यतालिका चाहिएको छ”


काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे दुईवटा फरक प्रस्ताव आउन नदिन आफू समन्वयमा रहेको बताएका छन्। सोमबार बिहान देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूह ‘डेलिगेन्स’का प्रतिनिधिहरूसँगको भेटमा कोइरालाले “म पार्टीलाई एक बनाउन लागिरहेको छु। पार्टीभित्र दुई वटा प्रस्ताव नआओस्, एउटै प्रस्ताव आओस्,” भन्ने प्रतिक्रिया दिएका हुन्।

उनीसँग भेट्न विशालनगरस्थित सम्पर्क कार्यालय पुगेको समूहले विशेष महाधिवेशनको वातावरण बनाउन आग्रह गरेको थियो। समूहका नेता गुरूराज घिमिरेका अनुसार डा. कोइरालासँग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग केन्द्रीय कार्यसमितिमा प्रवेश नपाएकोबारे गुनासो पनि गरिएको थियो।

गुरूराज घिमिरेले भने, “हामीले उहाँलाई विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेका हौं।”

नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका बनाउने र सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैं विशेष महाधिवेशन बोलाउने विकल्प पनि खुला रहेको बताएका छन्। ‘चार वर्षे कार्यकालभित्रै नियमित महाधिवेशन गर्नुपर्ने हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै  घिमिरेले भने, ‘यदि त्यो सम्भव हुँदैन भने विशेष महाधिवेशन केन्द्रीय समितिले आफैं बोलाउने कुरा गर्नुभयो।’

घिमिरेका अनुसार हस्ताक्षर अभियान समूहले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा कोइरालासँग भेट्ने योजना बनाएको थियो। यसअघि टोलीले शनिबार कार्यवाहक सभापति खड्कासँग पनि छलफल गरिसकेको थियो।

त्यसक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि टोलीलाई बोलाएर पछिल्ला राजनीतिक विकासबारे जानकारी गराएको नेता घिमिरेले बताए।