कोइराला पक्षको थापाले पुस र संस्थापन पक्षको यादवले वैशाखको कार्यतालिका पेश गर्ने

कोइराला पक्षको थापाले पुस र संस्थापन पक्षको यादवले वैशाखको कार्यतालिका पेश गर्ने

कांग्रेसमा निर्वाचन सहभागितामा एकमत, महाधिवेशन मितिमा अझै मतभेद


नेपाली कांग्रेसको कार्यसम्पादन समितिको अनौपचारिक बैठक सोमबार सकिएको छ। महाधिवेशन र निर्वाचन सहभागिताका विषयमा ठोस सहमति नजुटे पनि मङ्गलबारदेखि केन्द्रीय समिति बैठक सुरु गर्ने समझदारी बनेको छ। बैठकमा समूहगत छलफल असफल भएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला र विजय गच्छदारले अन्तिम वार्ता गरेका थिए। वार्तामा सहभागी एक नेताका अनुसार विमलेन्द्र निधिले “निर्वाचनमा भाग लिने विषयमा कांग्रेसमा कुनै मतभेद छैन, भोलिको बैठकबाट सर्वसम्मत निर्णय गरौं” भन्दै महामन्त्रीहरूलाई प्रस्ताव ल्याउन आग्रह गरेका थिए।
यता महामन्त्री विश्वप्रकाश शर्माले “एउटा–एउटा विषयमा निर्णय गर्नु उचित हुँदैन, महाधिवेशन र निर्वाचन दुवैमा एकसाथ निर्णय गरौं” भन्दै निधिको प्रस्ताव अस्वीकार गरे।
महाधिवेशन मितिको अडान कायम
महामन्त्री गगन थापा पक्षले पुस मसान्त र संस्थापन पक्षले वैशाख मा महाधिवेशन गर्ने अडान दोहोर्‍याएको छ। मङ्गलबारको बैठकमा गगन थापाले पुस मसान्त तथा सहमहामन्त्री महेन्द्र यादवले वैशाखको कार्यतालिका र औचित्य प्रस्तुत गर्ने तयारी छ। कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय सर्वसम्मत रूपमा लिने सम्भावना बलियो देखिए पनि महाधिवेशनको मिति र कार्यतालिकामा मतभेद कायम रहेकाले मङ्गलबारको बैठक निर्णायक हुने भएको छ।